काठमाडौँ, २७ फागुन : काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)ले उपत्यकामा मर्यादित, सभ्य र संस्कृति अनुसार होली पर्व मनाउन सबैमा अनुरोध गरेको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच्छृङ्खल र तडकभडकका साथ होली पर्व मनाउनेविरुद्ध कडा कारबाही गरिने भएकाले शान्तिपूर्ण रुपमा पर्व मनाउन सबैमा अनुरोध गर्नुभएको छ ।
उहाँले आज एक सूचना जारी गर्दै भन्नुभएको छ, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ । तसर्थ चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न÷नगराउन सबैमा अनुरोध छ ।’
आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन सहायक प्रजिअ पौडेलले अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “कोही कसैले यस्ता अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही हुन्छ, त्यसैले शान्तिपूर्ण रुपमा होली मनाउनु म सबैमा अनुरोध गर्दछु ।”
काठमाडौँ प्रशासनले नेपालीहरुले उल्लासपूर्ण रूपमा मनाउँदै आएको रंगहरुको पर्व फागू पूर्णिमा (होली) को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइमा शुभकामना पनि व्यक्त गरेको छ ।
ऐतिहासिक महत्व बोकेको साँस्कृतिक गौरवको यो पर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरक रहेको जनाइएको छ । तर विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भड़क सहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रमहरू हुने गरेको पाइएकाले त्यस्ता गतिविधिमा पूर्ण रोक लगाइने पनि जनाइएको छ ।
यस्तै ललितपुर र भक्तपुर प्रशासनले पनि आजै एक सूचना जारी गरी होलीपर्व शान्तिपूर्ण र संस्कृति अनुसार मनाउन आग्रह गरेको छ । दुवै प्रशासन कार्यालयले पनि आजै एक सूचना जारी गरी अवाञ्छित गतिविधि गर्नै विरुद्ध कानुन अनुरा कारबाही हुने चेतावनी दिइएको छ । यही फागुन २९ गते पहाडमा र चैत १ गते तराइमा होली पर्व मनाईँदै छ ।