काठमाडौँ, २६ फागुन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौँमा आजदेखि ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१’ सुरु भएको छ ।
नक्सालस्थित प्रतिष्ठानको प्रदर्शनी हलमा सुरु भएको कला प्रदर्शनीको प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले उद्घाटन गर्नुभयो ।
सो क्रममा उहाँले प्रतिष्ठानले प्रदेशगत रुपमा आयोजना गरेको प्रदर्शनीको प्रशंसा गर्दै किसानले माटाको पहिचान गरेर अन्न उत्पादन गरे झैँ कलाकारले पनि आफ्नो माटोलाई चिनेर कला र कलाकारिता गर्नुपर्ने बताउनुभयो ।
भिडिओ यहाँ :
उद्घाटन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’को मूल भावमा रही आयोजना गरिएको प्रदर्शनीले प्रदेशको ललितकलाका उत्थानमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कला र कलाकारको धनी बागमती प्रदेशमा ललितकलाको खोज तथा अनुसन्धानका थप काम गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले कलाका क्षेत्रमा प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको पुनर्जागरण गराएको र अझै जरैसम्म पुगेर रैथाने कला, सीपलाई थप उजागर गराउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानको रणनीतिक योजनामुताबिक प्रादेशिक ललितकला प्रदर्शनी गरिएको र यसले हाम्रा मौलिक कला, शैली, शिल्प, ज्ञानलाई उत्थान तथा प्रवर्धन गर्न सहयोग गर्ने बताउनुभयो ।
रैथाने सीप र कलाको पुस्तान्तरण हुनुपर्ने बताउँदै उहाँले कला र कलाकारको रचनात्मक सिर्जनशील विकासमा जोड दिनुभयो । ललितकला क्याम्पस (भोटाहिटी) का प्रमुख डा.यामप्रसाद शर्माले यस प्रदर्शनीले उत्साह थपेको र कलाकारले विविध कलालाई विभिन्न रूपमा देखाएको बताउनुभयो ।

समारोहमा नेपाली ललितकला क्षेत्रमा योगदान दिनुभएका कलाकारहरू जुलुमलाल चित्रकार, भोला पौड्याल, शारदामान श्रेष्ठ, सुष्मा राजभण्डारी, सुनिता राणा, धर्मबहादुर तामाङ, सरिता डङ्गोललगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा प्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित अनुसन्धानमूलक शोधपत्रिका ‘ललितकला प्रज्ञा’को समेत विमोचन गरिएको थियो । प्रदर्शनीमा बागमती प्रदेशका २०९ कलाकारका २३९ कलाकृति राखिएका छन् ।

चैत्र १ गतेसम्म चल्ने प्रदर्शनीको क्युरेटिङ प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वालको संयोजनमा रजनी सिंख्वाल र सविना तामाङले गर्नुभएको हो । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति कान्छाकुमार (केके) कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’, प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य, प्राज्ञसभा सदस्य, अग्रज कलाकार, संस्कृतिकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, कलाकारलगायतको उपस्थिति रहेको थियो । यसअघि प्रतिष्ठानले ६ वटा प्रदेशमा प्रादेशिक कला प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

