काठमाडौँ, २५ फागुन : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा सुरु भएको प्रादेशिक कला प्रदर्शनी अन्तरगत भोलि फागुन २६ गतेदेखि बागमती प्रदेशस्तरीय कला प्रदर्शनी सुरु हुँदैछ ।
अन्य ६ वटा प्रदेशमा प्रदर्शनीसकिएपछि अन्तिम प्रदेशका रुपमा बागमतीस्तरीय कला प्रदर्शनी हुन लागेको हो।

भोलिदेखि बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी काठमाडौँमा सुरु हुने र त्यसको सबै तयारी पूरा भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रादेशिक ललितकला प्रदर्शनी संयोजक लालकाजी लामाले जानकारी दिनुभयो ।
उक्त बागमतीस्तरीय ललितकला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाका संस्थापक कूलपति किरण मानन्धरले उद्घाटन गर्दै हुनुहुन्छ ।
उहाँका अनुसार बागमती प्रदेशमा २०९ जना कलाकारका २४१ कलाकृति प्रदर्शनीमा राखिने छ । अन्य ६ प्रदेशमा भन्दा यहाँ कलाकार र कलाकृतिको सहभागिता बढी छ । हामीले सबै तयारी पूरा गरिसकेका छौँ । अब उद्घाटन समारोहका लागि तयारी भइरहेको छ ।

अन्य ६ प्रदेशमा ३८ हजारले हेरे प्रदर्शनी
प्रतिष्ठानका अनुसार यसअघि फागुन महिनाव्यापी रुपमा सुरु भएको प्रादेशिक प्रदर्शनी अन्तरगत ६ वटा प्रदेशमा ३८ हजार बढीले प्रदर्शनी अवलोकन गरेका छन् ।
गएको फागुन ४ गतेबाट प्रादेशिक कला प्रदर्शनी सुरु भएको थियो । फागुनको ४ गतेदेखि ८ गतेसम्म पोखरामा भएको गण्डकी प्रादेशिक प्रदर्शनीमा ६ हजार बढीले अवलोकन गरेका प्रतिष्ठानको गण्डकी प्रदेश समन्वय समितिकी संयोजक सौरगंगा दर्शनधारीले जानकारी दिनुभयो । त्यहाँ सबै विधाका ९० वटा कला प्रदर्शनीमा राखिएको थियो ।
यस्तै फागुन ६ देखि १० गतेसम्म कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी भएको थियो । त्यहाँ ६५ जना कलाकारका ७० वटा कला प्रदर्शनी भएको थियो । सो प्रदर्शनीमा ४ हजार हाराहारीले अवलोकन गरेका प्रतिष्ठानको कर्णाली प्रदेश समन्वयसमितिका संयोजक पाल्साङ्मो लामाले जानकारी दिनुभयो । कर्णालीमा राउटेका कला प्रदर्शनी र कार्यशालासमेत आयोजना भएको थियो ।
उता सुदुरपश्चिम प्रदेशमा फागुन ८ देखि १२ गतेसम्म भएको प्रदर्शनीमा ८ हजारले अवलोकन गरेका प्रतिष्ठानको सुदुरपश्चिम प्रदेश समन्वय समितिका संयोजक प्रदीप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रदर्शनीमा १२० कलाकारका २०० कलाकृति प्रदर्शनीमा राखिएको थियो ।
फागुन १० देखि १४ गतेसम्म आयोजना गरिएको गण्डकी प्रादेशिक कला प्रदर्शनीमा १२३ कलाकारका १८० कलाकृति प्रदर्शनी भएको थियो । उक्त प्रदर्शनीमा ६ हजार बढीले अवलोकन गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक दिनेश्वर महतोले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा फागुन १६ देखि २० गतेसम्म आयोजना गरिएको प्रादेशिक कला प्रदर्शनीमा १९७ कलाकारका २३० कलाकृति प्रदर्शन भएको थियो । उक्त प्रदर्शनीको १० हजारले अवलोकन गरेको अनुमान गरिएको प्रतिष्ठानको कोशी प्रदेश समन्वय समितिका संयोजक सञ्जय वान्तवाले जानकारी दिनुभयो ।
त्यसपछि मधेश प्रदेशस्तरीय ललितकला प्रदर्शनी यही फागुन २० गतेदेखि २४ गतेसम्म भएको थियो । उक्त प्रदर्शनीमा १५५ कलाकारका २०५ वटा कलाकृति समावेश भएकामा उक्त प्रदर्शनीको ४ हजार बढीले अवलोकन गरेका प्रतिष्ठानको मधेशप्रदेश समन्वय समितिकी संयोजक अरुणा हिङमाङले जानकारी दिनुभयो ।
भोलिदेखि नक्सालस्थिति प्रतिष्ठान कार्यालयमा हुने बागमती प्रादेशिक कला प्रदर्शनी चैत १ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनी संयोजक तथा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले बताउनुभयो ।
गत वर्षदेखि संघीय संरचना अनुसार प्रादेशिक ललितकला प्रदर्शनीअन्तरगत दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।
ती प्रादेशिक प्रदर्शनीबाट छनोट भएका कलाकृति मध्ये उत्कृष्ट कलाकृति गणतन्त्र दिवस (जेठ १५ गते) काठमाडौँमा हुने राष्ट्रिय कला प्रदर्शनीमा समावेश हुने प्रतिष्ठानले जनाएको छ ।
विगतमा भन्दा यसपाली सबै प्रदेशमा कलाकार र कलाकृतिको सहभागिता उल्लेख्य बढेको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो । उहाँले कलाको कुणस्तरमा पनि वृद्धि भएको पाइएको र स्थानीइ तह, प्रदेश सरकार तथा अन्य संघसंस्थाको सहभागिता र उत्साहले थप उर्जा मिलेको बताउनुभयो ।
विगतमा यसरी प्रदेशमा गएर कला प्रदर्शनीको चलन थिएन । गत वर्षबाट यो कार्यक्रम सुरु गरिएको हो । जिल्लामा लुकेर रहेका कलाहरुलाई उजागर गर्दै माथि उठाउन र रुपान्तरणका लागि कला महत्वपूर्ण भएकाले प्रदेश प्रदेशमा कला प्रदर्शनी थालिएको हो ।
यसपाली राष्ट्रिय प्रदर्शनीमा १ लाख राशिको सर्वाेत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही ६० हजार राशिको ललितकला विधागत पुरस्कार र नवप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।
ललितकला विधागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिक÷आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक÷आधुनिक मूर्तिकला, शिल्प र हस्तकला, वास्तुकला तथा लोककला बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कलामा कलाकारलाई पुरस्कृति गरिने छ ।
यस्तै प्रदेशगत रुपमा रु ५० हजार राशीको सबै प्रदेशबाट १ जना उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कारका साथै ३० हजार राशीको परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक÷आधुनिक मूर्तिकला, शिल्पकला, वास्तुकला तथा लोककला, बहुआयामिक कला, तथा अन्य सिर्जनात्मक कला र नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार पनि प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।