काठमाडौँ, २४ फागुन : महिला अधिकार र समानताका लागि कानून बनाउन ढिला गर्न नहुने विभिन्न महिला संगठनहरुले बताएका छन् ।
११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा आज विभिन्न ५ राजनीतिक दल निकट महिला संगठनहरुले उक्त माग गरेका हुन्।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापा मगरले नेपाली चेलीहरु देशविदेशमा प्रताडित भइरहेको बताउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संविधानले महिलाको अधिकार र समानताको प्रत्याभूति गरिसकेको स्मरण गराउँदै थापाले भन्नुभयो, “सरकार संविधान अनुसार कानून बनाउनतिर ध्यान देउ नत्र महिलाहरु आन्दोलन गर्न बाध्य हुनेछन् ।”
विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले लामो संघर्षमर्फात संविधानमा महिला हक–अधिकारलाई लिपिबद्ध गराउन सफाल भए पनि व्यवहारमा लागु नहुनु गम्भीर विषय भएको बताउनुभयो ।
उहाँले आफूहरुले जनयुद्धमा बगाएको रगत र बलिदानमार्फत धेरै महिलाहरुलाई सदन तथा सरकारमा पुर्याए पनि उनिहरुले महिलाहरुका लागि खासै काम गर्न नसकेको गुनासो गर्दै भन्नुभयो, “हामीहरुले तपाईहरुलाई संसदमा अनि सरकारमा त पुर्यायौँ तर तपाईहरुले महिलाहरुका लागि काम गर्नसक्नु भएको छैन, त्यतातिर ध्यान दिनुहोला ।”
उहाँले थप्नुभयो, “इशरा खड्का र सरस्वती खड्काहरुलाई कथित प्रेमीका नाममा ढुङगा हानी हत्या भएका छन्, भारतको उडिसास्थित विश्वविद्यालयमा प्रकृति लम्साललाई हत्या गरिन्छ, रिङ्कु सदाह बलात्कृत भएर मुख खोल्न नसकेर अफँै जीवन लिला समप्त गर्ने जस्ता कयौँ घटनाहरुले देशमा अझै पनि महिला स्वतन्त्र भएर हिंड्ने अवस्था छैन, त्यसैले सरकार अध्यादेशमार्फत भन्दा अधिकारको विषयमा पनि सोच्ने हो की ।”
नेकपा(एस) निकट अखिल नेपाल महिला संघ(समाजवादी)की अध्यक्ष जयन्ती राईले योगमाया न्यौपानेदेखि अहिलेसम्म महिला अधिकारका लागि बलिदान गरिरहेका महिलाहरुप्रति अझै पनि पितृसत्तात्मक सोच नबदलिनु दुर्भाग्य भएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ अध्यक्ष मिना पुनले राज्यका सम्पूर्ण क्षेत्रमा समानुपनितक महिला सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल समाजवादी महिला संघकी सल्लाहकार कल्पना सुवेदीले देशमा विभिन्न संघर्ष र बलिदानीपछि पनि महिलाले पूर्ण अधिकार नपाएकाले निरन्तर संघर्ष जारी राख्नु पर्ने बताउनुभयो ।
ती सङ्गठनले “११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस (८मार्च) सफल पारौँ । महिलामाथि सबै खालका विभेदको अन्त्य गरौँ” भन्ने नाराका साथ माईतिघर मण्डलाबाट हजारौँको संख्यामा र्याली र नाराबाजी गर्दै नयाँबानेश्वरस्थित संसद भवन पुगेर कोणसभा गरेका थिए ।