काठमाडौँ, २२ फागुन : काठमाडौँ उपत्यकालगायत विभिन्न पहाडी क्षेत्रमा आज विहानैदेखि एक्कासी मौसम बदली भएको छ ।
वर्षाका कारण गएको केही दिन मौसम सफा भएर घमाइलो देखिए पनि आज एक्कासी मौसममा बदली भएको हो ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावसँगै प्रदूषणका कारण मौसम बदलीमा सहयोग गरेको बताउँदै, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले यसले उपत्यका लागि पहाडी भूभागमा चिसो गराएको जानकारी दिनुभयो ।
मौसम्विद् ढकालले भन्नुभयो, “आज उपत्यकासहित पहाडी क्षेत्रहरुमा मौसम बदली भएको छ, पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ, प्रदूषणका कारण हावा पनि राम्ररी लागिरहेको छैन । त्यसैले पहाडी भूभागमा बादल लागेको छ । उच्च र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । यसले चिसो पनि बढाएको छ ।”
भोलिपनि उपत्यकामा यस्तैयस्तै अवस्था रहने पनि उहाँले बताउनुभयो । उपत्यकामा बादल लाग्दा पुन चिसो महसुस भएको छ ।
प्रिमनसुन सुरु भएको तर उल्लेख्य मौसम प्रणाली नभएको पनि बताउनुभयो । जलवास्पको सम्भावना पनि कम भएकाले ठूलो वर्षाको गराउने प्रणाली छैन तर कतै कतै हल्का वर्षाको सम्भावना भने रहेको उहाँले बताउनुभयो ।
महाशाखाले आज साँझ जारी गरेको मौसम बुलेटिनमा देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको र तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको जनाएको छ ।