काठमाडौँ, २१ फागुन : विपद विज्ञहरुले पहिलोको पूर्वानुमान गर्न सकिने विश्वसनीय विधिहरु विकास गर्न सकिने निष्कर्ष निकालेका छन् ।
विगतमा सिन्धुपाल्चोकका हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरो शुरुवात गराउने भीषण वर्षाको मात्राको सीमाको आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन भएको अध्ययनमा सहभागी विज्ञ टोलीले उक्त निष्कर्ष निकालेके हो ।
अध्ययनको नेतृत्व गर्नुभएका त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा.रञ्जनकुमार दाहालले अध्ययनको उद्देश्य, अनुसन्धान विधिलगायतबारे जानकारी गराउँदै तथ्यांकका आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधिहरु विकास गर्न सकिने बताउनुभयो ।
डा.दाहालले यस्तो विधिको विकास गरी जोखिम सञ्चार रणनीति र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।
उक्त निष्कर्षसहतिको प्रतिवेदन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा समेत बुझाइएको जनाइएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा.भीष्मकुमार भूसालले प्राधिकरणले विभिन्न विपद्हरुको पूर्वसूचना प्रणाली विकासमा काम गरिरहेकोले सिन्धुपाल्चोकका दुई पालिकामा भएको अध्ययनले यसतर्फ महत्वपूर्ण आधारका रुपमा काम गर्ने बताउनुभयो ।
यो अध्ययनले हेलम्बुमा २४ घन्टामा १२४ मिलिमिटर पानी परेमा र पाँचपोखरी थाङपालमा सोही अवधिमा ११८ मिलिमिटर पानी परेमा पहिरो जान सुरु हुने देखिएको छ ।
मनसुनमा सबैभन्दा धेरै पहिरो जाने जिल्लाहरुमध्ये सिन्धुपाल्चोक पनि हो । नेपालका लागि अहिलेसम्म गरिएका अध्ययनहरुका अनुसार प्रति दिन ११५ मिलिमिटरदेखि १६० मिलिमिटर पानी पर्दा पहिरो निम्तिने गरेको छ ।
उक्त अध्ययनले कति वर्षाले पहिरो जाने कुराको तथ्याङ्कको आधारमा पहिरोको पूर्वानुमान गर्न विश्वसनीय विधिहरू विकास गर्न सकिने औँल्याएको छ ।
यस्तै पहिरो सम्भाव्यता नक्साहरूले खोल्सा, खोलानाला र उच्च पहाडहरू नजिक उच्च जोखिम हुने अध्ययनको निष्कर्ष छ ।
वर्षाको मात्राले पहिरो जाने सीमा निर्धारण गर्न सकेमा पहिरोको पूर्व चेतावनी प्रणाली र विपद् जोखिम व्यवस्थापन को रणनीति विकास गर्न अत्यन्त सजिलो हुने सुझाव दिइएको छ ।
समग्रमा, यस अध्ययनले यी पालिका क्षेत्रहरूमा वर्षाको मात्राको सीमा निर्धारणले पहिरो जोखिमको हाम्रो बुझाइलाई सुधार गर्ने तथा नेपालका लागि अहिलेसम्मको गरिएको अनसन्धानका अनुभव अनुसार, वर्षाको एक निश्चित मात्राले पहिरो निम्त्याउने हुँदा सोही अनुसारको विपद व्यवस्थापन कार्य अघि बढाउनुपर्ने पनि औँल्याइएको छ ।
