काठमाडौँ, १९ फागुन : ललितकलाकी कलाकार कृति शाह ‘चन्द’का दोस्रो एकल चित्रकला प्रदर्शनी आजदेखि काठमाडौँमा सुरु भएको छ।
नेपाल कला परिषद् बबरमहलमा आज एक समारोहका बीच अग्रज कलाकारका साथै ‘स्किप ग्रुप’का कलाकारहरूले उक्त प्रदर्शनीको सामुहिकरुपमा उद्घाटन गर्नुभयो। कलाकार कृति शाह अग्रज तथा सिद्वहस्त कलाकार शशिविक्रम शाहकी छोरी हुनुहुन्छ।
गएको वर्ष पहिलो कला प्रदर्शनी ललितपुरमा भएकोमा यसपालि ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा उहाँको दोस्रो एकल कला प्रदर्शनी आजदेखि सुरु भएको हो। ४५ वटा कलाकृति समावेश उक्त प्रदर्शनी यही २२ गतेसम्म चल्ने छ। उहाँका मूर्त र अमूर्त कलाहरू यहाँ रहेका छन्।
कलाकार शाहले भन्नुभयो, “प्रदर्शनीले मानिसको जीवनमा उतारचढाव हुन्छ। यसमा समयले एउटा माग गरिरहेको हुन्छ, परिस्थितिले अर्कै मोडतिर लगिरहेको हुन्छ तर वास्तविकता अर्कै हुन्छ, सोचेको जस्तो हुन्न तर त्यसो हुँदैमा निरास हुनुहुँदैन भन्ने सन्देश दिने छ, अवलोकन गरेर सुझाव दिनुहोला।”
भिडियो :
https://www.facebook.com/samriddhisanchar/videos/1725014538075598
उहाँले उज्यालोको खोजी, माया, साँस्कृतिक धरोहर, शान्ति र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएको बताउनुभयो। रङको तरङगहरुलाई पनि सुन्दर ढंगले उहाँले यहाँ प्रस्तुत गर्नुभएको छ।
कला प्रदर्शनी उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले प्रदर्शित कलाकृति मानवीय जीवनमा छुने खालको रहेको बताउँदै कलामा साधना र त्यागको खाँचो रहेको औँल्याउनुभयो। समाजलाई अघि बढाउन कलाको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
कार्यक्रममा त्रिभूवन विश्व विद्यालयका पूर्वउपकुलपति तथा पूर्वराजदूत डा केदारभक्त माथेमाले आफू पनि कलामा चाख राख्ने व्यक्ति भएको बताउँदै कलाकार शाहलाई कलायात्राको शुभकामना दिनुभयो ।
कार्यक्रममा अर्का अग्रज कलाकार राधेश्याम मूल्मीले कलाकार कृति शाहको कला अग्रज कलाकार शशिविक्रम शाहको लयमा अघि बढिरहेको बताउँदै कलायात्रा नरोक्न आग्रह गर्नुभयो। अर्का वरिष्ठ कलाकार कृष्ण मानन्धरले चित्र र रङमा शब्दकोषमा भएको भन्दा बढी अदृष्य शब्द हुने स्मरण गर्नुभयो।
“रङमा खेल्नु आफैँमा चुनौतीको कुरा हो”, उहाँले भन्नुभयो, “यो डाक्टरले विरामीको शरीरमा अपरेशन गरेजस्तै हो, त्यसैले कलाकारलाई म एक कीसिमको डाक्टर सम्झन्छु।”
वरिष्ठ साहित्यकार रोचक घिमिरेले उहाँले पीताको कलाकर्मलाई अघि बढाएकोमा खुशी व्यक्त गर्दै निरन्तरताको कामना गर्नुभयो।
अर्का कलाकार तथा ललितकला गुठीका संस्थापक उत्तम डंगोलले कलाकार कृति शाहसँग लामो सहकार्य हुँदै आएको र आगामी दिनमा पनि ललितकला गुठीमार्फत कला क्षेत्रमा धेरै काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो।
अर्का वरिष्ठ कलाकार गोविन्द डङ्गोलले आफ्नो चेलीले गरेको कला सिर्जनाले मोहित बनाएको बताउनुभयो। उहाँको कलामा रस भरिएको आफूले पाएको सुनाउनुभयो ।
कृति शाहसँगको अन्तरवार्ता :
कलाकार कृति शाह ‘चन्द’का दोस्रो एकल चित्रकला प्रदर्शनीका तस्वीरहरू :






