काठमाडौँ, १७ फागुन नेपाल प्रहरीले लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम सुभारम्भ गरेको छ ।
आज काठमाडौँमा उक्त महाअभियानको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले विभिन्न महत्वपूर्ण व्यक्ति, युवा तथा विद्यार्थीहरू, चलचित्रकर्मीहरू, कला र संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूलाई जोडेर शुभारम्भ भएको यो महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो ।
लागूऔषध समाजमा घातक चुनौतीको रूपमा देखा परेको र लागूऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौन जन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता अपराधहरू समेत वृद्धि गराएको उहाँले बताउनुभयो ।
यसको न्यूनीकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासका साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानको रूपमा लागूऔषध विरूद्ध लड्न जरूरी रहेको उहाँले बताउनुभयो ।
समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको प्रमुख समस्याको रूपमा रहेको उल्लेख गर्दै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै
विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गईरहेकोले यसको न्यूनिकरण जरुरी रहेको बताउनुभयो ।
उहाँले समाजको नेतृत्वदायी भूमिकामा रहेका राजनैतिक दल र युवा समुहहरू एवम् सामाजिक आदर्शका रूपमा समाजसँग नजिक रहेका अभिभावक, शिक्षक, कलाकार तथा सञ्चारकर्मीहरू समेतको सहभागीताले यस महाअभियानको प्रभावकारिता र गुणस्तरीयता बढ्न गई परिणाममुखी हुने अपेक्षा रहेको बताउनुभयो ।