काठमाडौँ, १७ फागुन : विगत केहीदिनदेखिको बदली विस्तारै घट्न थालेको छ । आज रातीबाटै देशका धेरै स्थामा मौसम सफा हुँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भन्नुभयो, ‘आज देशका धेरै स्थानअहरुमा वर्षा भएको छ, पछिल्लो २५ घण्टामा उदयपुरमा ३८ मिलिमिटर पानी पर्यो, अहिले रातिबाटै मौसम खुल्न थालिसकेको छ, धेरै ठाउँमा खुलीसक्यो, भोलिबाट घाम लाग्छ ।’ अहिले देशका कहीँ पनि वर्षा नभएको पनि उहाँले बताउनुभयो ।
उहाँका अनुसार गएको २४ घण्टामा हिजोको तुलनामा कम पानी परे पनि आज पनि देशका धेरै थानमा वर्षा भयो । हिजो ६६ मिलिमिटरसम्म पानी परेकोमा आज ३८.४ मिमि भन्दा माथि पुगेको छैन ।
उहाँले उदयपुरमा ३८.४ मिलिमिटर वर्षा भएको छ । त्यसपछि कालिकोटमा आज २७.४ मिलिमिटर वर्षा भएको छ । हिजो त्यहाँ ६६.२ मिलिमिटर वर्षा भएको थियो ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत मधेश प्रदेशको पूर्वी भू–भाग र देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भएको छ ।
राति कोशी प्रदेश लगायतदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका थोरै साथै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।