काठमाडौँ, १६ फागुन : मधेश प्रदेशबाहेक देशका धेरै ठाउँमा आज वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उहाँले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्ष भएको छ । ती प्रदेशका धेरै ठाउँमा हल्ला र मध्यम वर्षा भएको र केही ठाउँमा भारी वर्षा भएको हो ।
बागमती प्रदेशका केही जिल्लाहरुमा पनि वर्षा भएको छ । सिन्धुपालेकका क्षेत्रमा अहिले पनि पानी परिरहेको उहाँले बताउनुभयो । कोशीका थोरै भूभागमा पानी परेको छ । आज राति पनि ठाउँठाउँमा वर्षा हुने र भोलि पनि मौसम बदली हुने तर सुधार हुँदै जाने पुडासैनीले बताउनुभयो ।
महाशाखाका अनुसार आज रातिको लागि सुदुरपश्चिममा क्षेत्रमा राती पनि वर्षाको सम्भावना छ । गण्डकी र बाग्मती प्रदेशका पहाडी भूभागमा केही ठाउँमा र कोशीको थोरै ठाउँमा वर्षाको सम्भावना छ ।
मौसमविद् पुडासैनीले भननुभयो, “भोलि आजभन्दा केही कम छ तर बदली चाहिँ छ, भोलि काठमाडौँमा आजभन्दा केही सुधार मात्रै छ, दिउँसोतिर पनि फाट्टफुट्ट पानी पर्नसक्छ, मधेशमा बदली मात्रै छ , पर्सी आइतबारबाट खुल्छ ।”
कुन ठाउँमा कति पानी पर्यो?
उहाँका अनुसार पछिल्लो २४ घण्टामा कालिकोटको रासकोट मापन केन्द्रमा ६६.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरामा ५६, बैतडीमा ५२.६ मिडिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
यस्तै मध्यम वर्षा डडेलधुरामा ४६, अछाम ३१, हुम्लाको सिमिकोट ३५.२ मिलिमिटर वर्षा भएको छ ।
यता गण्डकी प्रदेशको मनाङमा हल्का १२.८ बारपाकमा १२.८ म्याग्दी १६.२ वर्षा भएको छ । यता बागमतीको मेलम्चीमा मध्यम वर्षा ३१.४ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौँको कीर्तिपुरमा १.४, बुढानीलकण्ठमा १.२, सुन्दरीलजमा १.४ र सबैभन्दा बढी ढाप ड्याममा ४.६ मिडिमिटर वर्षा उपत्यकामा भएको छ ।