काठमाडौँ, १४ फागुन : शिवरात्रिका दिन आज चित्र कोर्न काठमाडौँ महानगरपालिका १५ का ३३ वटा विद्यालयका ६० जना विद्यार्थी स्वयम्भूमा भेला भए । स्कुल बिदा भएकाले विद्यार्थीलाई थप उत्साह थियो ।
उनीहरूलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराइएको थियो ।
विद्यार्थीहरूले आर्ट पेपरमा स्वयम्भूसहित उपत्यकाका दृष्य उतारे । त्यसमा उनीहरूले आफ्ना भावनाहरु समेत पोखे । नाङ्गो आँखाले देखिएको स्वयम्भूलाई स्कुले विद्यार्थीले दुरुस्त बनाएको देख्दा आगन्तुहरू चाख दिएर हेरिरहेका थिए ।
भिडियो :
https://www.facebook.com/samriddhisanchar/videos/994724789256269
बोधिसत्व स्कुल स्वयम्भूका एक जना विद्यार्थी सूर्यमान तामाङले पनि प्रतियोगितामा भाग लिई स्वयम्भू बनाउनुभयो । कला सिर्जनामा रुची राख्ने तामाङले स्वयम्भूमा आएर कला सिर्जना गर्न पाउँदा खुशी महशुस भएको बताउनुभयो ।
कामना इन्टरनेशनल स्कुलकी आरोही प्रसाईं पनि चित्र बनाउने प्रतियोगितामा भाग लिन पाउँदा खुशी हुनुभयो । उहाँले स्वयम्भूसहित धरहरालाई एउटै क्यान्भासमा समावेश गरेर आफ्नो सिर्जना देखाउनुभयो ।
प्रतियोगिता भएकाले आफूले स्वयम्भूसहित धरहरा जोडेर उपत्यकाको मौलिकता देखाउन खोजेको उहाँले बताउनुभयो । उपत्यकाका सम्पदा जोगाउनका लागि कलाको भूमिका महत्वपूर्ण हुने भएकाले आफू सहभागी भएको उहाँले सुनाउनुभयो ।

उक्त प्रतियोगिताका सहयोगी स्वर्णिम स्कुलका भगवान श्रेष्ठले काठमाडौँ महानगरपालिका १५ ले स्वयम्भू महोत्सवमा चित्रकला प्रतियोगिता आयोजना गरेकाले सहयोगीका रुपमा सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले वडामा रहेका ३३ स्कुलका ६० जना विद्यार्थीले प्रतियोगितामा भाग लिन आएको बताउनुभयो ।
उहाँका अनुसार यहाँ ती स्कुलका कक्षा ३ देखि ५ र कक्षा ६ देखि ८ गरी दुई समूहमा राखेर कला सिर्जना प्रतियोगिता आयोजना गरिएको छ ।
उक्त कला सिर्जना प्रतियोगिताको कार्यक्रम संयोजन गर्नुभएका कलाकार दिवेश प्रधानले स्वयम्भू क्षेत्रभित्र रहेका सभ्यता, संस्कृति र चाडपर्वहरुलाई समावेश गर्ने गरी विषय दिइएको र त्यही विषयमा रहेर विद्यार्थीले चित्र कोरेका बताउनुभयो ।
सम्पदाको महत्वलाई अघि बढाऔँ , स्कुलका विद्यार्थीहरुलाई सानैदेखि सम्पदा संस्कृति संरक्षणमा लगाव रहोस् भनेर उक्त प्रतियोगिता गरिएको उहाँले बताउनुभयो ।
स्वयम्भू महोत्सव मुल आयोजक समितिका संयोजक तथा महानगरको वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले कला संस्कृतिको जगेर्नाका लागि विद्यालयस्तरीय प्रतियोगितात्मक कला सिर्जना कार्यक्रम गरिएको र कला सिर्जनामार्फत सम्पदाहरूको संरक्षणमा जोड दिएको बताउनुभयो ।

आजको प्रतियोगितामा कक्षा ६ देखि ८ का विद्यार्थीको समूहतर्फ मोर्डन नेपाल स्कुलकी ग्रिन्ता पंडित प्रथम, युरो स्कुलकी अश्रेया शाक्य द्वितीय र डल्लु आवासीय स्कुलका स्वनिग श्रेष्ठ तृतीय भए भने मैत्री स्कुल र शांकरी स्कुलका सियविन महर्जन र सौभित महर्जन सान्त्वना भए ।
यस्तै कक्षा ३ देखि ५का विद्यार्थीतर्फ डल्लु आवासीय स्कुलककी सरिना महर्जन प्रथम, ईश्वर आधारभूत स्कुलकी अनिशा परियार द्वितीय र दिव्यज्ञान माविका जष्टिन कार्की तृतीय भए । यस्तै फ्यूचर स्टार स्कुल र विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालयका जोवा तामाङ र युनिका भुजेल सान्त्वना भए ।
यसअघि महोत्सवका अवसरमा यहाँ २० भन्दा बढी कलाकार सहभागी भएर कला कार्यशाला नै आयोजना गरिएको थियो ।
ती कार्यशालामा बनाइएका सम्पदाका कलाहरू अहिले पनि महोत्सवमा प्रदर्शन जारी छ । स्वयम्भू र त्यस वरपरका दृष्यलाई कलाकारहरूले क्यान्भासमा उतारेका छन् । यहाँ १७ गतेसम्म महोत्सव चल्ने छ ।
