काठमाडौँ : सामाजिक रुपान्तरण : ललितकलाको अभियान भन्ने मूल भावका साथ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा र नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीको सहआयोजनामा लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८१ भोलि फागुन १० गतेदेखि १४ गतेसम्म हुन गइरहेको छ।
बुटवल उपनगरपालिका, तिलोत्तमा नगरपालिका, रामग्राम नगपालिकालगायतको सहकार्यमा हुने प्रदर्शनीको तयारी पूरा भएको छ।
उक्त प्रदर्शनीमा १२३ जना कलाकारहरुले सिर्जना गरेका १८० वटा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, वास्तुकला, कार्टुनकला, फोटोग्राफी कलालगायतका कलाकृतिहरु समावेस गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवं लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक दिनेश्वर महतोले जानकारी दिनुभयो ।

उहाँले यो प्रदर्शनी लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आर्चायले शनिवार दिनको १२ : ३० बजे समुद्घाटन गर्ने जानकारी दिनुभयो । प्रदर्शनीले लुम्बिनीको सन्देश विश्वभर पुर्याउने विश्वास रहेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘कला समाजको दर्पण हो, जसले संस्कार, सभ्यता, सौन्दर्य, परम्परा र समय सापेक्ष चेनताको अभिव्यत्तिलाई सिर्जनशीलतामार्फत अभिव्यक्त गर्दछ। ललितकलाले सौन्दर्य चेतनाको विकास मात्र गर्दैन भावनात्मक, बौद्धिक, सांस्कृतिक समृद्धि, आलोचनतत्मक चेतसहितको समाज निर्माणमा योगदान पुर्याउँछ। तसर्थ यसको संरक्षण, प्रवर्धन र विकास अपरिहार्य छ। हामी नेपाली मौलिक कला र यसको सांस्कृतिक महत्वलाई उजागर गर्दै जीवन्त बनाउने अभियानमा छौँ।’
मौलिकताको जर्गेना, रोजगारिको सिर्जना र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ प्रतिष्ठानले थालेको यो देशव्यापी ललितकला अभियानले नेपाली मौलिक ज्ञान र कलापरम्परामा विशष्ट प्रभाव पार्ने उहाँले बताउनुभयो।
सामाजिक रुपान्तरणको अभियान र जागरणमा ललितकलालाई एक महहत्वपूर्ण पाटोका रुपमा लिई जवेता अभिवृद्धिमा लाग्नसमेत यस प्रदर्शनीले भूमिका खेल्ने विश्वास लिएको उहाँले बताउनुभयो।
लुम्बिनी प्रदेशका ललितकलाकर्मीद्वारा सिर्जित सिर्जनामार्फत वैश्विक चिन्तन, सामाजिक र सांस्कृतिक चेतना, जागरण एकै थलोमा प्रस्तुत गरिएको यस लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनीले कला क्षेत्रमा एउटा नयाँ उत्साह थप्ने विश्वासमेत लिएको उहाँको भनाइ छ ।
‘यस पटकको प्रदर्शनीमा प्रस्तुत हुने कलाकृतिहरुले दर्शकलाई सौन्दर्यबोध गराउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, स्थानीय कलाकारहरुको प्रतिभा उजागर गर्ने, कला तथा कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउनुका साथै समग्र नेपाली ललितकला क्षेत्रलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने विश्वास लिएको छु’, संयोजक महतोले भन्नुभयो।
साथै यो प्रदर्शनीमा सहभागी कलाकारहरुलाई पहिचान मात्र नभई उत्कृष्टकला कृतिहरुलाई छनोटगरी पुरस्कृत गरिने जनाइएको छ। यसपाली राष्ट्रिय ललितकला प्रदर्शनीमा १ लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही ६० हजार राशिको ललितकला विधागत पुरस्कार नवपप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।
ललितकला विधागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिक र आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक र आधुनिक मूर्तिकला, शिल्प र हस्तकला, वास्तुकला तथा लोककला बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कलामा कलाकारलाई पुरस्कृत गरिनेछ ।
यस्तै प्रदेशगत रुपमा ५० हजार राशिको सबै प्रदेशबाट उत्कृष्ट प्रादेशिक पुरस्कार साथै ३० हजार राशिको विधागत पुरस्कार प्रदान गरिने छ।
यसअघि गण्डकी प्रदेशको पोखरामा यही ८ गते प्रादेशिक कला प्रदर्शनी सम्पन्न भइसकेको छ भने कर्णाली र सुदुरपश्चिम प्रदेशमा जारी छ । अब बागमती, मधेश प्रदेश र कोशी प्रदेशको प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । त्यसपछि राष्ट्रिय प्रदर्शनी काठमाडौँमा हुने छ।
यो पनि :
फागुनमा सातै प्रदेश ललितकलामय हुँदै, अन्तिम तयारी
