काठमाडौँ : ताप्लेजुङको पाथीभरा केबलकारका विषयमा आज फेरि झडप हुँदा १३ जना घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन पानीका फोहरा, ७ राउड अश्रुग्यास तथा सामान्य लाठीचार्ज गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ।
यसपाली सुरक्षा निकायबाट संयमित अपनाउँदा सुरक्षाकर्मीहरू धेरै घाइते हुनुपरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
क्षमा पूजा गर्न पुगेका ‘नो केबलकार समूह’ निर्माणस्थलमा प्रवेश गरी सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि घटना भएको उनले बताए।
उक्त घटनामा नेपाल प्रहरीतर्फ ६ र सशस्त्र प्रहरीतर्फ ५ सुरक्षाकर्मी तथा पहिचान पक्षधरतर्फ १ जना घाइते भएका उनले बताए। उद्धारका लागि खटिएको गाडी चालकमाथि पनि आक्रमण गरी घाइते बनाइएको छ। प्रहरीले प्रयोग गर्ने ढाल तथा मेघाफोन पनि तोडफोड भएको छ।
घाइतेको उद्धारको लागि गएको एम्बुलेन्समाथि ढुङ्गा प्रहार गरी तोडफोडसमेत भएको प्रजिअ शर्माले बताए। उनले उद्धारमा खटिएका मानवअधिकारकर्मी, रेडक्रमकर्मीहरुलार्इ निकालेर गाडी तोडफोड गरी गाडीका चालकमाथि नै आक्रमण भएको बताए
उनले राजनीतिक नेताहरु राजेन्द्र महत्तो, रकम चेम्जोङकै नेतृत्वमा उक्त घटना गरिएको बताए।
यातायात व्यवसायीले गाडी बन्द गरे
यसैबीच गाडी चालक माथि आक्रमण गरेको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले सो क्षेत्रमा यातायात बन्द घोषणा गरेको छ।
साँझ विज्ञप्ति निकालेर ९ गतेदेखि नै मेची राजमार्ग, तमोर करिडोर, धरान-वसन्तपुर-गुफा सडकलगायत ताप्लेजुङ प्रवेश गर्ने सबै सडक तथा जिल्लाबाट जाने शाखा सडकहरूसमेत बन्द गर्ने जनाइएको छ। आक्रमणकारीलाई कारबाही गर्न पनि माग गरिएको छ।