काठमाडौँ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा सातै प्रदेशमा आयोजना गरिएको प्रादेशिक ललितकला प्रदर्शनी अन्तरगत भोलि बिहीवारबाट सुदुरपश्चिम प्रादेशिक ललितकला प्रदशैनी २०८१ सुरु हुँदै छ ।
प्रदर्शनीको सबै तयारी पूरा भएको प्रतिष्ठानको सुदुरपश्चिम प्रदेश समन्वय समितिका संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रदीप अधिकारीले बताउनुभयो । ‘अन्य तयारी सकिएको छ । अब उद्घाटनको अन्तिम काममा लागिरहेका छौँ’, अधिकारीले भन्नुभयो, यसपालि गतवर्षको भन्दा धेरै कलाकृति र सहभागिता छ, उत्साहप्रद देखिएका छ ।
प्रादेशिक ललितकला प्रदर्शनीले ओझेलमा परेको मौलिक लोकज्ञानको बिर्सिँदै गएको परम्परालाई पुनस्थापित गर्न सहयोग पुर्याएको अधिकारीले बताउनुभयो ।

उहाँले १२० कलाकारका २०० बढी कलाकृति प्रदर्शन हुन लागेको जानकारी दिनुभयो । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको हो । प्रदेशका सभामुख भीमबहादुर भण्डारीले उक्त प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ ।
‘सहभातिा उत्साहजनक छ। पहिलेकोभन्दा धेरै र उत्कृष्ट कलाकृति आएको भेटेँ । कलाकारमा पनि उत्साह देखिएको छ । थारु समुदायको हस्तकला र लोक कलाको विशेष सहभागिता छ र समसामयिक कला राम्रो आएको छ’, अधिकारीले भन्नुभयो,’लोक चित्रकला र मूर्तिकलाको उपस्थिति पनि राम्रो छ । फोटोग्राफि, डिजिटल आर्ट र कार्टुन पनि समावेश भयो।’
कार्यक्रम धनगढीस्थित सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानकै सभाहल हसनपुरमा हुने जनाइएको छ । यसअघि सुरु भएको गण्डकी र कर्णाली प्रादेशिक कला प्रदर्शनी अहिले जारी छ ।