काठमाडौँ, १ फागुन : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अगुवाइनमा सातै प्रदेशमा आयोजना हुने प्रादेशिक र राजधानी काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।
गत वर्षदेखि संघीयता संरचना अनुसार सुरु भएको दोस्रो प्रादेशिक ललितकला प्रदर्शनीको तयारीमा सात वटै प्रदेशका ललितकलाकर्मीहरु जुटेका छन् । यसपाली फागुन महिना ललितकलामय हुन लागेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली ललितकला क्षेत्रकै सबैभन्दा ठूलो कार्यक्रम (महाउत्सव) मानिने ललितकला प्रदर्शनीमा देशभर एक हजारभन्दा बढी कलाकृति प्रदर्शनी हुने र त्यसबाट छनोट गरिएको कलाकृतिलाई गणतन्त्र दिवसका अवसरमा आयोजना हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गराइने छ ।
सोही अनुसार अहिले प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यहरुलाई हरेक प्रदेशको जिम्मेवारी दिएर प्रादेशिक प्रदर्शनीको तयारी गरिएको छ । यही फागुन ४ गतेबाट सुरु हुने प्रादेशिक प्रदर्शनी चैतको १ गतेसम्म चल्ने छ । फागुन महिना सातै प्रदेश ललितकलामय हुँदै छ ।
महिनाव्यापी कार्यक्रमअन्तरगत गण्डकी प्रदेशमा यही फागुन ४ गतेदेखि ८ गतेसम्म, कर्णाली प्रदेशमा फागुन ६ देखि १० गतेसम्म, सुदुरपश्चिम प्रदेशमा फागुन ८ देखि १२ गतेसम्म लुम्बिनी प्रदेशमा फागुन १० देखि १४ गतेसम्म, कोशी प्रदेशमा फागुन १६ देखि २० गतेसम्म, मधेश प्रदेशमा फागुन २१ देखि २५ गतेसम्म र बागमती प्रदेशमा फागुन २७ देखि चैत १ गतेसम्म प्रादेशिक कला प्रदर्शनी हुँदैछ ।
उक्त प्रदर्शनीका लागि प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य सञ्जय वान्तवालाई कोशी, अरुणा हिङ्माङलाई मधेश प्रदेश, उपकुलपति लालकाजी लामालाई बागमती, प्राज्ञ परिषद सदस्यहरु दिनेश्वर महतोलाई लुम्बिनी, सौरगङ्गा दर्शनधारीलाई गण्डकी, पाल्साङ्मो लामालाई कणाली र प्रदीप अधिकारीलाई सुदूरपश्चिम प्रादेशिक ललितकला प्रदर्शनीको संयोजनको जिम्मेवारी तोकिएको छ ।
उहाँहरुले आआफ्नो क्षेत्रमा उक्त प्रदर्शनीको अन्तिम तयारी भइरहेको जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेशका प्रादेशिक कला प्रदर्शनीको संयोजन गर्नुभएका प्राज्ञ परिषद सदस्य दिनेश्वर महत्तोले करिबकरिब तयारी पूरा भएको जानकारी दिँदै भन्नुभयो, “लुम्बिनीमा १२५ कलाकारका करिब २०० कलाकृतिहरु प्रदर्शनी हुने छन् ।”
अन्य प्रदेशहरुमा पनि कम्तिमा १०० देखि २०० सम्म कलाकृतिहरु हरेक प्रदेशमा प्रदर्शनी गर्न लागिएको छ ।
यसरी प्रदेशमा लुकेर रहेका कलाहरुलाई उजागर गर्दै माथि उठाउन र रुपान्तरणका लागि कला भन्ने उक्तिलाई सार्थक तुल्याउन प्रदेश प्रदेशमा कला प्रदर्शनी थालिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले रैथाने कलाहरू गाउँगाउँमा प्रयोग हुने, त्यसै हराउने हुनाले प्रदेशमै प्रदर्शनी गराउँदा सहभागी गराउन सकिने र ती गाउँका कलाकार र कलालाई राजधानीसम्म ल्याउन सके नेपाली ललितकलाकाे महत्व अझै बढ्ने र संरक्षणमा याेगदान पुग्ने विश्वास रहेकाे बताउनुभयाे ।
ती प्रदर्शनीमा प्रतियोगीका साथै अप्रतियोगी कलाकृतिसमेत प्रदर्शन हुने छ । प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृति आउँदो गणतन्त्र दिवसका अवसरमा काठमाडौँमा राष्ट्रिय कला प्रदर्शनीमा समावेश हुने छ ।
यी विधामा पुरस्कृति गरिने
राष्ट्रिय प्रदशर्शनीमा १ लाख राशिको सर्वाेत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, जनही ६० हजार राशिको ललितकला विधागत पुरस्कार र नवप्रतिभा ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।
यसपाली ललितकला विधागत पुरस्कारतर्फ परम्परागत चित्रकला, समसामयिक/आधुनिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक/आधुनिक मूर्तिकला, शिल्प र हस्तकला, वास्तुकला तथा लोककला बहुआयामिक कला तथा अन्य सिर्जनात्मक कलामा कलाकारलाई पुरस्कृति गरिने छ ।
यस्तै प्रदेशगत रुपमा रु ५० हजार राशीको सबै प्रदेशबाट उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कारका साथै ३० हजार राशीको परम्परागत चित्रकला, समसामयिक चित्रकला, परम्परागत मूर्तिकला, समसामयिक/आधुनिक मूर्तिकला, शिल्पकला, वास्तुकला तथा लोककला, बहुआयामिक कला, तथा अन्य सिर्जनात्मक कला र नवप्रतिभा ललितकला प्रादेशिक पुरस्कार पनि प्रदान गरिने छ ।