सौराहा : वन्यजन्तु पर्यटनका लागि नेपालकै पहिलो गन्तव्य चितवनको पर्यटकीय नगरी सौराहामा माघ २९ गते मङ्गलवारदेखि १९औँ सौराहा फुड फेस्टिबल (खाना महोत्सव) सुरू भएको छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको फेस्टिभलको बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका छन् ।
उक्त महोत्सवमा व्यवसायिक पर्यटन प्रद्र्धनका लागि पर्यटन कार्यालय सौराहा चितवनले सहकार्य गरेको छ ।
सो अवसरमा उनले सौराहाको सफारी पर्यटन विश्वमै उत्कृष्ट रहेको बताए । सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाइमा पुर्याउन सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
‘सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य हो’, उनले भने, ‘सौराहाको पर्यटनमार्फत प्रदेशको आर्थिक अवस्था मजबुत बनाउँछौँ ।’
https://www.facebook.com/samriddhisanchar/videos/936864981934260
बागमती प्रदेशका सांसद् तथा पूर्वमन्त्री जगन्नाथ थपलियाले सरकारले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न नसकेको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा बागमती प्रदेशका सांसद् तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले सौराहाको दीर्घकालीन विकासका लागि सरकारीस्तरबाट बृहत् पर्यटन विकास समिति, निकुञ्ज ऐनको खारेज गर्नुपर्ने बताए।
http://facebook.com/samriddhisanchar/videos/1165131445127463
रेवानका केन्द्रीय अध्यक्ष संघर्ष विष्टले पर्यटन उद्योगको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। उनले भैरहवा, पोखरा र चितवनको विमानस्थलको स्तरोन्नति गरी हवाई टिकटको मूल्य घटाउनुपर्ने बताए । रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहाको पर्यटन विकासका लागि सरकारीस्तरबाट गुरूयोजना निर्माण गर्नुपर्ने बताए ।

फेस्टिबलका संयोजक शम्भुप्रसाद मालीले सौराहामा पर्यटक भित्र्याउन फुड फेस्टिभल आयोजना गरिएको भन्दै फेस्टिबलका कारण सौराहामा ४० प्रतिशत पर्यटक वृद्धि हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारी, वडा नं–७ का वडाध्यक्ष सजना महतो, सोही वडाका निवर्तमान अध्यक्ष तथा रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्ट, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरी, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी विडारीलगायतले मन्तव्य राखेका थिए ।
प्रणय दिवसको अवसर पारेर आयोजना गरिएको फुड फेस्टिबल उद्घाटनपूर्व सौराहामा बृहत् शोभायात्रा निकालिएको थियो। फेस्टिभललाई भव्य बनाउन व्यवसायीले सौराहालाई सिँगारेका छन् । फेस्टिबल स्थललाई रङ्गीचङ्गी बनाइएको छ ।
फेस्टिबलका सहसंयोजक कृष्ण भट्टले पर्यटकको स्वागतका लागि सौराहालाई सिँगारेर रङ्गीचङ्गी बनाइएको बताए। ‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’लाई आत्मसात् गर्दै सौराहास्थित पर्यटक बसपार्क जाने बाटोको उत्तरतर्फको खाली जग्गामा फेस्टिबल सुरू भएको हो ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कला–संस्कृतिरभेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यसवर्ष पनि सौराहाको पर्यटनमार्ग सौन्दर्यीकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको सहसंयोजक भट्टले बथाए ।

फागुन ३ गतेसम्म चल्ने फेस्टिबलमा बहुल जातजातिहरुको झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटररवेट्रेसबीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता, रक्तदान कार्यक्रम, ब्याडमिन्टन प्रतियोगिता हुने छ।
९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबलमा सौराहा क्षेत्रभित्र कार्यक्रम अवधिभर अनुमानित तीन करोडसम्म कारोबार हुने अपेक्षा गरिएको छ ।
फेस्टिबल अवलोकनका लागि सौराहामा दैनिक पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने रेवान सौराहाका महासचिव नवीन नेपालले जानकारी दिए ।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ सौराहा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।
फेस्टिभल अवधिभर सौराहाका व्यवसायीहरुले आवास र खानामा १० प्रतिशत छूट सुविधासमेत सार्वजनिक गरेको रेबानका अध्यक्ष ध्रुव गिरीले बताए।