काठमाडौँ : कर्मचारीस्तरको वार्ताटोलीबाट निकास नआएको भन्दै पाथीभरा केबलकार विरुद्ध आन्दोलन गरिरहेका व्यक्तिहरु आज गृहमन्त्री रमेश लेखक भेट्न पुगेका छन् ।
सो क्रममा मन्त्री लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान निकाल्नुपर्नेमा जोड दिनुभएको छ ।
आज साँझ उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकार राख्ने प्रतिनिधिहरुले गरेको भेटका अवसरमा गृहमन्त्री लेखकले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले उक्त विषयमा सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
आज साँझ गृहमन्त्रालयमा उक्त भेटघाट भएको थियो । यसअघि हिजो मन्त्रालयद्धारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ताटोलीबीच भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि आज उनीहरुले गृहमन्त्रीसँग भेटघाट गरेका हुन् ।
उक्त भेटमा नेकपा एमालेका नेता योगेश भट्टराई तथा आदिवासी जनजातिका नेताहरुको समेत सहभागिता रहेको थियो ।
“आज साँझ उहाँहरु गृहमन्त्री ज्यूलाई भेट्न आउनुभएको थियो”, गृह प्रवक्ता रामचन्द्र तिवारीले भन्नुभयो, “गृहमन्त्रीबाट वार्ता र सहमतिबाटै निकास निकाल्न आाग्रह भएको छ ।”
उहाँले मन्त्री लेखकले शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा आफू पनि गम्भीर रहेको बताउनुभएको जानकारी दिनुभयो । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको थियो ।