काठमार्डौँ, २६ माघ : पछिल्लो समयमा आगलागीका घटना बढ्दै गएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सुख्खायाम लागेसँगै आगलागीका घटना बढिरहेको र यो क्रम अझै बढ्ने भएकाले सचेत हुन अनुरोध गरेको छ ।
प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आफू सचेत हुँदा पनि धेरै घटना हुन र घटनाबाट बच्न सजिलो हुने हुँदा व्यक्ति नै बढी सचेत हुनुपर्ने बताउनुभयो । अधिकांश आगलागी मानवसिर्जित रहेको पनि उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज मात्रै उपत्यकामा सिंहदरबारको खानीपानी मन्त्रालयको कोठामा र काठमाडौँ अनामनगरको राजन मिट सपमा आगलागी भएको जानकारी दिएको छ ।
परिसरले आजै एक सूचना जारी गरी गएको पुस १ गतेदेखि आजसम्म काठमाडौँमा मात्रै ३४ वटा आगलागीका घटना भएको सार्वजनिक गरेको छ । त्यसैले परिसरले आगलागीबाट जोगिन र ध्यान दिन सबैमा अनुरोध पनि गरेको छ ।
यसरी जोखिन सकिन्छ आगलागीबाट
परिसरले आज सार्वजनिक गरेको सूचनामा सलाई, लाईटर जस्ता आगोजन्य पदार्थ बालबालिकाको पहुँचबाट टाढा राख्न, स्मोक डिटेक्टर राख्न, आगलागीबाट बच्नका लागि कसरी र कुन बाटो प्रयोग गरेर भाग्ने सम्बन्धमा अभ्यास गर्न अनुरोध गरिएको छ ।
यस्तै आगलागी भएको अवस्थामा वरपर रहेका व्यक्तिहरूलाई ( अलार्म बजाएर वा चिच्याएर) जानकारी गराउन तथा सकभर चाँडै बाहिर निस्कन पनि अनुरोध गरिएको छ ।
“कहिलै पनि घरभित्र लुक्ने प्रयास नगर्नुहोस्, घर बाहिर निस्किसकेपछि सबै परिवार सुरक्षित बाहिर आए÷नआएको एकिन गर्नुहोस् । आगलागी भएको जानकारी हुनासाथ प्रहरी कन्ट्रोल १००, दमकल सेवा १०१ तथा स्थानीय प्रहरीलाई जानकारी गराउनुहोस्, धुवा भरिएको स्थान भएर बाहिर निस्कनुपर्दा घोप्टो परेर घिस्रेर निस्कनुहोस् । जसले गर्दा श्वास प्रश्वासको लागि सहज हुन सक्दछ”, परिसरले आज सार्वजनिक गरेको सूचनामा जनाइएको छ ।
ढोका खोल्नु अगाडि ढोका ताते नतातेको एकिन गर्न, यदी ढोका तातेको भए उक्त ढोका नखोली अन्य मार्ग भएर बाहिर निस्कन तथा लगाएको कपडामा आगोले टिप्यो भने कदापी नदौडन पनि अनुरोध गरिएको छ ।
काठमाडौँ प्रहरीले यसरी दौडिएको अवस्थामा आगो अझ चाँडै बल्ने हुनाले रोकिएर आगो निभाएर मात्र भाग्न पनि अनुरोध गरेको छ ।