काठमाडौँ । चितवनको सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिबल हुँदै छ । यसपाली मौसमसमेत अनुकुल भएकाले काठमाडौँलगायत क्षेत्रका दर्शक सौराहा गएर फुड फेष्टिबलमा रमाउन सक्छन् ।
आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले ठूलो लगानी गरेर कलाकारहरुलाई दैनिक रुपमा प्रस्तुति दिने गरी कार्यक्रम बनाएका छन् ।
जसले सौराहा आउने पर्यटकहरु खल्लो महसुस गर्ने पाउने छैनन् । उनीहरुले कलाकारको धमाकेदार प्रस्तुतिमा पूर्ण मनोरञ्जन लिन सक्नेछन् ।
माघ २९ देखि फागुन ३ अर्थात भ्यालेन्टाइन डेको दोस्रो दिनसम्म चल्ने फुड फेष्टिबल यसपाली भव्य बनाउन लागिएको प्रचार समितिका संयोजक कृष्ण भट्टले जानकारी दिनुभयो । सोही अनुसार सौराहा सजिसजाउ पारिएको छ भने कार्यक्रम स्थल झकिझकाउ र आकर्षक बनाइएको छ ।
कुन दिन कुन कलाकार?
फेष्टिबल अन्तरगत माघ २९ गते कलाकार शिवहरी ढुंगाना, निशा लामा र द न्याटिभ ब्याण्डको प्रस्तुति रहने रेवान सौराहाका सचिव तथा कलाकार सांस्कृतिक कार्यक्रम संयोजक नविन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार माघ ३० गते गायक पशुपति शर्मा, सम्झना भण्डारी र रमेशराज भट्टराईले धमाकेदार प्रस्तुति दिँदै छन् ।
यस्तै फागुन १ गते खुमन अधिकारी, विन्दा परियार र चर्चित गायिका समीक्षा अधिकारीको प्रस्तुति रहने छ । फागुन २ गते भ्यालेन्टाइन डेको दिन कलाकार अर्जुन सापकोटा, शान्तिश्री परियार, प्रमोद खरेल र परम्परा ब्याण्ड तथा मञ्जु पौडेलको प्रस्तुति रहने संयोजक नेपालले बताउनुभयो ।
यस्तै फागुन ३ गते एलिना चौहान, रेशम निर्दाेश, सुनिल पंडित र मञ्जु पौडेलको प्रस्तुति रहने छ ।
सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको आयोजनामा १९औं संस्करणको सौराहा फुड फेष्टिबल हुन लागेको हो ।
प्रणय दिवसको अबसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ ।
चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो। “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता”लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा फेष्टिबल हुने छ ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासँस्कृति, वेषवुषा जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउने उद्द्श्य रहेको छ।
प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्य रहेको प्रचार समितिका संयोजक कृष्ण भट्टले जानकारी दिनुभयो ।
फेस्टिवलको प्रभावका कारण पर्यटकीय नगरी सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वृद्धि हुने विश्वास गरिएको छ।
फागुन ३ गते सम्म चल्ने फेस्टिबलमा साँस्कृतिक झाँकीका साथै सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर,वेट्रेस बीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला पूmटबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने फेस्टिबलका संयोजक शम्भूप्रसाद मालीले जानकारी दिनुभयो ।