काठमाडौँ : काठमाडौँको राष्ट्रिय नाचघर जमलमा आजदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महोत्सवको आज साँझ उद्घाटन गरे।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गरेको महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले दुई देशको सहकार्यमा नाटक महोत्सव आयोजना हुनु खुशीको कुरा भएको उल्लेख गर्दै यस्ता कार्यक्रम हरेक वर्ष हुन जरुरी रहेको औँल्याए।
उनले मन्त्रालयले कला संस्कृतिको संरक्षणमा काम थालेको जानकारी गराउँदै यसरी कार्यक्रम गर्दा दुई देशको सम्बन्ध विस्तार हुनुका साथै आपसी अनुभव आदानप्रदान हुने पनि बताए।
प्रतिष्ठानकी कुलपति निशा शर्माले यसरी सहकार्यमा महोत्सव गर्दा कला संस्कृति आदानप्रदान हुने बताइन्। उनले भनिन्, “नेपाल भारत रङ्ग महोत्सवलाई एक अर्कासँग सिक्ने अवसरको रुपमा हेरिएको छ, एक अर्काको नाटक हेरेर त्यसबाट नयाँ सीप र कला सिक्न सकिन्छ, त्यो अवसर जुरेको छ।”
महोत्सवको उद्घाटन पछि आजै पहिलो नाटक मञ्चन गरिएको थियो। आज पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो। यही ३० गतेसम्म चल्ने महोत्सवमा ६ वटा नाटक प्रदर्शन गरिने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन्।
जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने नाटकमध्ये ३ वटा नेपालका र ३ वटा भारतका प्रदर्शन हुने कुलपति शर्माले जानकारी दिइन्। कुलपति शर्माका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा महोत्सव यही माघ १५ गते नै शुरु भइसकेको र भारतका ११ शहरमा महोत्सव अहिले जारी छ।
भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव यहाँ पहिलो भएको बताउँदै उहाँले यसपाली महोत्सवमा भारतको संस्कृति मन्त्रालयका निमित्तसचिव सहितका उच्च अधिकारीहरु पनि सहभागी भएका छन्।
महोत्सव अन्तरगत माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ।
महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ।
माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ।
कुलपति शर्माले महोत्सवमा सहभागी हुने नेपाल भारतका चर्चित नाटक केवल प्रस्तुति मात्र नभएर एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरुको साझा सम्वाद हुने र छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिन्।
यहाँ प्रदर्शन हुने नेपाली नाटकहरुमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ काठमाडौँमा प्रदर्शन भइसकेपछि नयाँ दिल्लीमा प्रदर्शन हुने छन् भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुनेछ । भारतमा जारी महोत्सवमा ९ देशका २ सयभन्दा बढी नाटक प्रदर्शन हुने छन्। नेपालसँगै यसपटक यो महोत्सव श्रीलंकाको राजधानी कोलम्बोमा पनि आयोजना हुँदै छ।
महोत्सव भारतको राजधानी नयाँ दिल्लीसहित अगरतला, अहमदाबाद, भटिन्डा, बेंगलुरु, भोपाल, गोआ, गोरखपुर, जयपुर, खैरागढ र राँची गरी ११ शहरमा आयोजना भइरहेको छ।
महोत्सव आयोजनामा काठमाडौँ महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकमका साथै नेपालस्थित भारतीय दूतावासको सहयोग रहेको छ।