काठमाडौँ । आपराधिक लाभ लिने उद्देश्यले हनि ट्रयापमा पारी ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट एक महिलालाई पक्राउ गरेको छ ।
इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटकपटक मोबाईलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भनी धाक धम्की, डर त्रास देखाई पीडितलाई १० लाख लिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज उक्त घटना विवरण सार्वजनिक गर्दै आजै उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
यसरी हनी ट्रयापमा पारेर पैसा असुल्न खोज्नेमा चितवन घर भई हाल काठमाडौँ महानगरपालिका १३ कुलेश्वर बस्ने वर्ष २८ की अस्मिता आचार्य रहेको कार्यालयका सूचना अधिकारी,प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
१० लाख मा ३ लाख चेकमार्फत बाँकी ७ लाख नगदमा दिने गरी मोलमोलाइ भई रकम असुली गरेको भन्ने सूचना प्राप्त भए पश्चात उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले आचार्यलाई कुलेश्वरबाट पक्राउ गरिएको आचार्यले बताउनुभयो ।
उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
नविल बैंकको अस्मिता आचार्यको नाममा काटिएको ३ लाखको चेक पनि बरामद भएको छ ।