काठमाडौँ। बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाई जुवा (सट्टेबाजी) लगायतमामा ३ अर्ब बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १० भारतीय र १४ जना नेपाली नागरिक रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्ने नेपालीहरुमा प्युठानका टंकबहादुर पछाई र रवि विष्ट, डोटीका तेज बोगटी, प्युठानका लक्ष्मण विष्ट, प्यूठानकै अविनास जि.सी, हरिबहादुर जिसी, समिर खड्का, विक्रम पछाइ, अशोक जिसी, सुजन जि.सी., गोपाल बिष्ट, सुर्खेतका भिष्म वली, हेमन्त लोहनी र दार्चुलाका हेमन्त धामी रहेका छन् ।
पक्राउ पर्ने भारतीयहरुमा अजित कुमार, मुकेश मण्डल, मनोज कुमार, सुमित खत्री, प्रबात कुमार, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय, मनोजप्रकार कुमार रहेका छन् ।
उनीहरुले ८ भन्दा बढी बेटिङ साइटको प्रयोग गरी भारतीय बेटिङ खेल्ने एजेन्टहसँग सामाजिक सञ्जालहरुबाट सम्पर्क गरी अफ लाईन अवैध खेलहरु खेलाएको पाइएको छ ।
उनीहरुले यसरी हारजीत भएको रकम भारतको विभिन्न बैंक खातामै जम्मा गर्ने र निकाल्ने गरी अनलाईन जुवा खेल्ने खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरु पक्राउ गरेका हुन् ।
कार्यालयका सूचना अधिकारी आचार्यले उनीहरुलाई ललितपुरको सानेपास्थित २ वटा घर भाडा लिएर व्यवसायिक तवरले अनलाईन जुवा खेल्ने र खेलाउने कार्य गरेको पाइएको छ ।
खोतजतालका क्रममा उनीहरुलाई शनिवार पक्राउ गरी आज सार्वजनिक गरिएको पनि आचार्यले बताउनुभयो । लगत्तै आजै उनीहरुलाई थप कारबाहीका लागि घटना भएको जिल्ला हेर्ने प्रहरी कार्यालय जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको उहाँले बताउनुभयो ।
“बरामदी ल्यापटप तथा मोबाईलको प्रारम्भिक अनुसन्धान गर्दा उनीहरुले ३ अर्ब चार करोड ७३ लाख ५६ हजार बराबरको अनलाईन जुवा कारोबार गरेको देखिन आएको छ”, प्रहरी उपरीक्षक आचार्यले भन्नुभयो ।
उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– ५ को दफा १२५ (जुवा खेल्न वासट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनीहरुको साथबाट विभिन्न मोडेलका ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान बैंकको एटिएम कार्ड, ८८ थान सिमर्कार्ड, १२ थान चेकबुक भारतीय आधारकार्ड ८ थान र ६ थान राहदानी बरामद गरिएको छ ।