काठमाडौँ । अग्रज कलाकार, चराविद् तथा साहित्यकार स्व. हेम पौड्यालको प्रथम स्मृति दिवसका अवसरमा आज काठमाडौँमा उहाँको कविता सङ्ग्रह लोकार्पणसँगै उहाँले बनाउनुभएका कला प्रदर्शनी गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा आज उहाँको सम्झनामा चित्रकला प्रदर्शनी, पुस्तक लोकार्पण र पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला क्षेत्रमा चरालाई विषयवस्तु बनाई चित्र कोर्ने सिद्धहस्त कलाकार हेम पौड्याल महत्त्वपूर्ण र स्मरणीय व्यक्तित्व रहेको बताउनुभयो ।
उहाँले पौडेलका कलामा श्रम, सीप जोडेर प्रकृति र सिर्जनामा शिल्पगत विशेषता रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “कलाकार हेम पौड्याल नव पुस्ताको ऊर्जा स्रोत हुनुहुन्छ र यस कार्यक्रम पुस्ता हस्तान्तरणको एक उदाहरण रहेको र नव प्रवर्तवनको एक खुड्किलो रहेको छ ।”
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कलाकार हेम पौड्याल एक कला सर्जक मात्र नभई प्रकृतिप्रतिको सचेतना भएको भविष्य द्रष्टा पनि भएको बताउनुभयो । उहाँले हेम पौड्यालको कला तथा साहित्यमा अतुलनीय योगदान रहेको धारणा राख्नुभयो ।
समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तावाले कलाकार हेम पौड्यालको परिचय कला, साहित्य र सामाजिक क्षेत्रमा गरी त्रिआयामिक रूपमा रहेको बताउनुभयो ।
कलाकार हेम पौड्यालको जीवनसाथी तथा सर्जक गङ्गा कर्माचार्य पौड्यालले कलाकार हेम पौड्यालको सामाजिक सेवा तथा लगावका बारेमा जानकारी दिनुभएको थियो ।
उहाँले दिवङ्गत श्रीमानको स्मृतिसभामा उपस्थित भई आत्मबल बढाउने आफन्त इष्टमित्रहरू साथै नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः हुनुहुने करिना बस्नेत, चिराग राई तथा शीतल महर्जनलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुभयो ।
जसमा २२ जना कलाकारले सहभागिता जनाउनुभएको थियो । कविता प्रतियोगीतर्फ अनाम ‘उपेक्षित’ प्रथम , अनिता ढकाल द्वितीय र सुन्दर ‘शिरीष’ तृतीय हुनुभएको थियो, जसमा २३ जना कविले सहभागिता जनाउनुभएको थियो ।
कलाकार तथा चराविद् स्वर्गीय पौडेलले सिर्जना गर्नुभएका चराका चित्रसँगै अन्य २२ जना कलाकारले बनाएका प्रतियोगी चित्रहरु समेत यहाँ प्रदर्शन गरिएको छ । कार्यक्रममा उहाँकी धर्मपत्नी गङ्गा कर्माचार्य पौड्यालको पनि कविता संग्रह लोकार्पण गरिएको थियो ।
