काठमाडौँ : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको विकास र समृद्धिका लागि सबैले उपयुक्त वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आज पूर्वसुरक्षाकर्मी परिषद नेपालको चौथो वार्षिकोत्सव तथा तेस्रो अधिवेशन उद्घाटन समारोहमा उहाँले गलत राजनीतिक संस्कार र संस्कृतिका कारण देशले सोचे अनुसार मुहार फेर्न नसकेको जिकिर गर्दै नागरिकको मुहारमा खुसी ल्याउनुपर्ने, राष्ट्र बलियो बनाउनुपर्ने र त्यसका लागि उपयुक्त वातावरण निर्माण गर्न जरुरी रहेको बताउनुभयो ।
देशलाई केन्द्रमा राखेर राजनीतिक गर्ने मान्छेले मात्रै मुलुकलाई अघि बढाउन र मुलुकलाई समृद्ध पार्न सक्ने भएकाले नागरिकले त्यस्ता मान्छेलाई चुन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी सबैको स्वार्थ भनेको देश र राष्ट्रको समृद्धि हो । नागरिकको स्वभिमान समृद्धि गर्ने उद्देश्यबाहेक अरु स्वार्थ छैन ।”
उहाँले अहिले देश आर्थिक रुपमा समृद्धि हुन नसकेको र राजनीतिक गतिशिल हुन नकसेको उल्लेख गर्दै त्यसको मुख्य कारण भनेको स्वस्थ राजनीतिक प्रतिष्पर्धा नहुनाले नै हो भन्नुभयो ।
उहाँले सामाजिक संरचना नै भत्किएकाले र गाली गलौजको संस्कृतिको विकास भएकाले देश अघि बढ्न नसकेको बताउँदै त्यसलाई रोक्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा उहाँले पूर्वसुरक्षाकमीहरुको योगदानलाई नजरअन्दाज गरिएको बताउँदै उनीहरुको ज्ञान सीपको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
गलत क्रियाकलापबाट आयआर्जन गरेर राजनीतिमा पुगी नेपाली जनतामाथि शासन गर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले राजनीतिज्ञमा देश कसरी अघि बढाउने भन्ने स्पष्ट खाका हुनुपर्नेमा उहाँको जोड छ ।