काठमाडौँ । विभिन्न व्यक्तिलाई लोभमा फसाएर वा उनीहरुको नागरिकता लगायतका कागजात लिइ बैंक खाता खोलेर ठगी गरी ठगेको रकम क्रिप्टो र हुण्डी कारोबारमा लगाउने ७ व्यक्ति पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट खटिएको टोलीले नेपालमा गैर–कानूनी रहेको अभौतिक मुद्राको संगठित रुपमा कारोबार तथा ठगी गर्ने गिरोहमा संलग्न रहेका २ भारतीयसहित ५ जनालाई काठमाडौँका विभिन्न क्षेत्रबाट पक्राउ गरेको सिआइबीका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो ।
उनीहरुलाई पक्राउ गरी सिआइबीले आजै सार्वजनिक पनि गरेको छ । यसरी पक्राउ पर्नेमा कैलाली घर भई बूढानीलकण्ठ बस्ने माइकल डङ्गरा, सोही ठाउँ बस्ने अनिल विश्वकर्मा, पियुष श्रेष्ठ, दोलखा घर भई काठमाडौँको कागेश्वरी बस्ने अश्विन चौलागाईँ, रौतहट घर भई काठमाडौँको बानेश्वर बस्ने सत्यमकुमार सहनी, भारत घई भई काठमाडौँ बस्ने रोशन कुमार र मुन्ना कुमार रहेका छन् ।
उनीहरुबाट सिआइबीले मोबाइल १३ थान, कम्युटर २ थान, बैंँकको चेक १९ थान र नगद रु ५ लाख ५० हजार बरामद गरिएको शाहीले जानकारी दिनुभयो ।
उनीहरुले अभौतिक मुद्राको कारोबार गरेको र उक्त कारोबार डिजिटल वालेटमार्फत भुक्तानी गरी क्रिप्टो, हुण्डीलगायत अवैध कारोबारमा लगाउने गरेको पाइएको पनि उहाँले बताउनुभयो ।
यस्तै उनीहरुले वालेट प्रयोगकताएलाई झुक्याएर आफैँ आधिकारिक व्यक्ति भएको बताउँदै उनीहरुको ओटिपी कोड मागी अनाधिकृत रुपमा रकम निकासा गर्ने गरेको, विभिन्न लोभ देखाएर धेरै कमाई हुने विश्वासमा पारी मानिसकको खातामा रहेको रकम रकमान्तर गर्ने गरेको, त्यसरी आएको रकम थोरै समएमा अन्यत्रै सार्ने गरेको समेत अनुसन्धानमा पाइएको छ ।
घरमै बसेर आकर्षक तलब पाइने भनी लोभमा पारेर उनीहरुका नागरिकता प्रयोग गरी खाता बनाइ सम्बन्धित व्यक्तिलाई निश्चित रकम दिएर खाता दुरुपयोग गर्ने तथा यसरी उक्त खातामा आएको रकम क्रिप्टो वा हुण्डी कारोबारमा प्रयोग गर्ने गरेको पनि भेटिएको प्रहरीले जनाएको छ।