काठमाडौँ : काठमाडौँमा नेपाल–भारत रङ्ग महोत्सव हुने भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आज काठमार्डौँमा पत्रकार सम्मेलन गरी महोत्सव यही माघ २३ गते शुरु हुने जानकारी दिएको छ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गर्न लागेको महोत्सवमा नेपाल र भारतका गरी ६ वटा नाटक राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन्।
उनका अनुसार महोत्सवमा नेपालका ३ र भारतका ३ नाटक मञ्चन हुनेछन्। भारतको राजधानी नयाँ दिल्लीमा यही माघ १५ गते शुरु भएको उक्त महोत्सव अहिले जारी रहेको छ।
भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव पहिलो भएको पनि कुलपति शर्माले बताइन्। महोत्सवमा भारतको संस्कृति मन्त्रालयका सचिवसमेत सहभागी हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो।
उनका अनुसार यही माघ २३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवको उद्घाटन गर्नेछन्। सोही दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ।
माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुने पत्रकार सम्मलेनमा जानकारी गराइएको थियो।
महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ।
सबै नाटक निःशुल्क हेर्न पाइने
पत्रकार सम्मेलनमा कुलपति शर्माले भनिन्, “यस महोत्सवमा सहभागी हुने नेपाल-भारतका चर्चित नाटकका माध्यमबाट केवल प्रस्तुतिमात्र होइन, एक अर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरुको साझा सम्वाद हुनुका साथै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउनेछ भन्ने विश्वास गरेकी छु।”
प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाललाई ऐतिहासिक अवसर प्राप्त भएकाले महोत्सवमा सहभागी हुन सबैसँग अनुरोध गरेका छन्।
यसरी संयुक्त रुपमा महोत्सव नै आयोजना गरेर नाटक मञ्चन हुनु नेपाल र भारत दुवै देशका लागि गौरवको विषय भएको प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले बताइन्।
नेपालमा प्रदर्शन हुने नेपाली नाटकमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ काठमाडौँमा प्रदर्शन भइसकेपछि नयाँ दिल्लीमा प्रदर्शन हुनेछन् भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुने जनाइएको छ।
भारतमा जारी महोत्सवमा ९ देशका २ सयभन्दा बढी नाटक प्रदर्शन हुनेछन्। नेपालसँगै यसपटक यो महोत्सव श्रीलंकाको राजधानी कोलम्बोमा पनि आयोजना हुँदै छ।
महोत्सव भारतको राजधानी नयाँ दिल्लीसहित अगरतला, अहमदाबाद, भटिन्डा, बेंगलुरु, भोपाल, गोवा, गोरखपुर, जयपुर, खैरागढ र राँची गरी ११ शहरमा आयोजना भइरहेको छ।
महोत्सव आयोजनामा काठमाडौँ महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकमका साथै नेपालस्थित भारतीय दूतावासले सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
भिडियो :
https://www.facebook.com/watch?v=641760911532793