काठमाडौँ : तराइका धेरै जिल्लाहरुमा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा हिमपात भइरहेकाले त्यससम्बन्धीको कार्ययोजना थप प्रभावकारीरुपमा कार्यान्वयन गर्न गृह मन्त्रालयको विपद प्राधिकरणले प्रमुख जिल्ला अधिकारीहरुको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका क्षेत्रमा शीतलहर बढ्न थालेको र यो क्रम अझै केही दिन रहने विशेष बुलेटिन नै जारी गरेको तथा हिमाली क्षेत्रमा हिमपात भइरहेकाले शीतलहर र हिमपातसम्बन्धीको कार्ययोजना थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै प्रजिअहरुलाई पत्राचार गरिएको आज जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । कतिपय हिमाली भूभागमा हिमपात भइरहेको छ ।
विभागले शुक्रवार जारी गरेको शीतलहरसम्बन्धी विशेष बुलेटिनमा तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि अनुरोध गरेको छ । यो क्रम अझै केही दिनसम्म रहने जनाइएको छ ।
त्यसैले प्राधिकरणले शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ जारी गरी कार्यान्वयन गरिरहेको छ । मौसमुविद्का अनुसार कार्तिक महिनादेखि फागुन महिनासम्म नेपालका विभिन्न भागमा शीतलहर तथा हिमपातको प्रभाव रहन्छ ।
यो समयमा तराई तथा भित्री मधेशका जिल्लाहरूमा जाडोको समयमा शीतलहरको जोखिम रहने र उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा तापक्रम निकै नै घटन गई चिसो बढ्ने र हिमपात हुने गरेको प्राधिकरणका प्रवक्ता डा भट्टराईले बताउनुभयो ।
शीतलहर तथा हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ मा शीतलहर, अत्याधिक चिसो र हिमपातबाट विपन्न वर्गहरू बढी प्रभावित हुने र यस अवधिमा स्वास प्रश्वाससम्बन्धी रोगहरूको प्रकोपसमेत हुनसक्ने भएकाले बृद्वबृद्वा, बालबालिका, सुत्केरी महिलाहरू, अपाङ्गता भएका व्यक्तिहरू, दीर्घ रोगीहरूलाई विशेष संरक्षणको आवश्यकता पर्ने शीतलहर तथा हिमपातको समयमा प्रभावित हुने क्षेत्र, जनसंख्या, आवश्यक पर्ने राहत तथा उद्वारका सामग्रीहरू र गर्नुपर्ने आवश्यक पूर्वतयारी र प्रतिकार्यको योजनाबद्व कार्यढाँचा गर्नुपर्ने उल्लेख गरेको छ ।