काठमाडौँ : नेपाली ललितकला क्षेत्रका कलाकारले विश्व जलरङ (वल्र्ड वाटर कलर) दिवस क्यान्भासमा जलरङबाट दृष्य उतारेर मनाएका छन् ।
काठमाडौँमा रहेका कलाकारले बिहीवार शङ्खमुलमा दृष्यचित्र सिर्जना गरी दिवस मनाएका हुन् । यस्तै नवलपुरको गैंडाकोट, कास्कीको पोखरा र धरानका कलाकारले समूहगत रुपमा जलरङमार्फत कला सिर्जना गरी दिवस मनाएका छन् ।
अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा दिवसका सन्दर्भमा बिहीवार कलाकारले कला कार्यशाला नै आयोजना गरेर दिवस मनाइएको समाजका सदस्य डिबी राईले जानकारी दिनुभयो ।

काठमाडौँको शङ्खमुलमा आयोजना भएको कार्यशालामा कलाकारहरुले विभिन्न विषयवस्तु र शैलीमा चित्र कोरेका थिए । उक्त कार्यक्रममा २६ जना कलाकारको सहभागिता रहेको थियो ।
कलाकार राईले शङ्खमुलको मौलिक घरलाई जलरङमार्फत क्यानभास सजाउनुभयो । यस्तै दिपेन्द्रमान बनेपालीले यहाँको दृष्य चित्र बनाउनुभयो ।
कार्यक्रममा वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठ र गौतमरत्न तुलाधरले जलरङमा आफूले कुचि चलाउँदा गरेको संघर्षका बारेमा जानकारी दिँदै जलरङका गतिविधि नेपालमा बढाउँदै लगेकोमा समाजलाई धन्यावाद दिनुभयो ।

धरानमा आज कलाकार महेन्द्र राईको नेतृत्वमा, नवलपुरको गैँडाकोटमा प्रकाश थापाको नेतृत्व र पोखरामा मनोज तामाङको नेतृत्वमा कला सिर्जना गरी दिवस मनाइएको राईले जानकारी दिनुभयो ।
उक्त दिवस हरेक वर्ष जनवरी २३ तारिखमा विश्वका विभिन्न देशमा एकै साथ मनाउने गरिन्छ ।
यसअघि पनि समाजको संयोजनमा कलाकारहरूले विभिन्न कार्यक्रम गर्दै आएका छन् । कलाकारले ठाउँठाउँमा पुगेर सामूहिक रूपमा कला कार्यशाला र प्रदर्शनी गर्ने गरेका छन् । समाजले नेपालमा हरेक २, २ वर्षमा जलरङ महोत्सव नै आयोजना गर्दै आएको छ ।
शङ्खमुलको कार्यक्रममा सहभागी अर्का कलाकार दिपेन्द्रमान बनेपालीले जलरङको महत्वलाई जिवित बनाइराख्न दिवस मनाउने गरिएको बताउनुभयो ।

जलरङ कला सिर्जनाको सुरुवाती चरणमा जुनसुकै कलाकारले प्रयोग गर्ने विधा हो । पारदर्शी भएकाले कला सिर्जनाले मिठास भर्छ ।
आर्ट सिक्दा देखिनै जलरङ प्रयोग हुने भएकाले पनि यसको महत्व रहेको छ । तर पछिल्लो समयमा सिकिसकेपछि भने कलाकारले यो विधा छाडेन गरेको बताइन्छ ।
आज शङ्खमुलमा भएको कार्यक्रममा उपत्यकाका कलाकारहरु कलाकारहरु डिबी राई, दिपेन्द्रमान बनेपाली, दिराम पाल्पाली, सुरेश स्याङ्तान, दिवेश प्रधान, केशवराज खनाल, विनोद गुप्ता, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, राधेश्याम कर्माचार्यलगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।



