काठमाडौँ : चितवनको नारायणगढस्थित नारायणी किनारमा यही पुस २५ गतेदेखि माघ १० गतेसम्म १५औँ चितवन महोत्सव २०८१ आयोजना गरिने भएको छ ।
मध्ये क्षेत्रकै ठूलो मानिने चितवन महोत्सवबारे आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महोत्सव मुल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले महोत्सवले समग्र जिल्लाको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा टेवा पुर्याउने उद्देश्य रहेको जनकारी दिनुभयो । हरेक दुई वर्षमा अयोजना हुने महोत्सव यसपाली १० बाट बढाएर १५ दिन पुर्याइएको छ ।
सार्वजनिक नीति साझेदारीको नमूना प्रस्तुत गर्दै भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति मुख्य प्रवद्र्धन रहने गरी उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुने चितवनको गौरब र गरिमामय प्रस्तुति चितवन महोत्सवमा यसपालि चिनिया पेभेलियन समेत रहने जनाइएको छ ।
यस्तै बेरोजगार युवालाई महोत्सव परिसरमै रोजगारी उपलब्ध गराइने गरी नयाँ कार्यक्रम तयार पारिएको उहाँले बताउनुभयो ।
“भरतपुर महानगरसँगको समन्वयमा बेरोजगार युवा र रोजगारदातालाई रोजगार परिसर निर्माण गरी भेट गर्ने व्यवस्था गरिएको छ । जहाँ दक्ष र बेरोजगार युवालाई परिसरमा नै रोजगारी दिने व्यवस्था समेत गरिएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले महोत्सवमा रोजगार डेस्क नै स्थापना हुने बताउनुभयो ।
संयोजक सुमन श्रेष्ठ, भिडियो
https://www.facebook.com/samriddhisanchar/videos/1063018402177340
महोत्सव अवधिभर उद्यम गर्न चाहनेहरुको तथ्यांक लिइने र नवउद्यमीहरुको पहिचान गरिने भएको छ । त्यसपछि संघमा स्थापना भएको रोजगार तथा व्यवसाय सूचना केन्द्रमार्फत रोजगारीका लागि पहल गरिन जनाइएको छ । त्यस्तै आवश्यक सीप र तालिम सञ्चालन गरिने पनि महोत्सव संयोजक सुमन श्रेष्ठले बताउनुभयो ।
संघले विगतका वर्षहरुमा पोल्ट्री, डेरी, मौरी र मह, केरा लगायत उत्पादनलाई केन्द्रमा राखेर महोत्सव गरिसकेको र त्यसले ती क्षेत्रको व्यवसायिक विकासमा सहयोग पुगेको जानकारी गराउँदै संयोजक श्रेष्ठले भन्नुभयो, “यसवर्षको महोत्सव पर्यटन विकासमा केन्द्रित रहेको छ, यसपटक विविधतालाई प्रतिनिधित्व गर्ने गरी कृत्रिम पार्क निर्माण गर्दै छौँ, चितवनका पर्यटकीय स्थलमा जान आउनका लागि सफारीको व्प्यवस्था, होमस्टेमा बस्ने व्यवस्था, वृत्तचित्र प्रदर्शनी, महोत्सवबाट पर्यटकीय स्थलहरुमा जान पार्टी बसको व्यवस्था गर्दै छौँ ।”
चितवन महोत्सवमा घुम्न आउने पर्यटकलाई बस्न खानमा महोत्सव अवधिभर पर्यटन व्यवसायीसँगको समन्वयमा छुटको व्यवस्था समेत गरिएको महोत्सवको आर्थिक समितिका संयोजक, उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष कल्याण जोशीले जानकारी दिनुभयो । उहाँले महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पोल्ट्री, तथा उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुने बताउनुभयो ।
पुस २९ गतेदेखि माघ ४ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटक, सूचना प्रविधि, साहित्यलगायत जिल्लाको समग्र सामाजिक, आर्थिक,विकासका सम्भावनामा केििन्द्रत विज्ञहरुसहितको राष्ट्रिय सेमिनार आयोजना गरिने भएको छ । यसपटक तोरीको उत्पादन प्रवद्र्धन गर्न मौरीको प्रतिमासहित तोरीबारी निर्माण गरिने भएको छ ।
अन्तरराष्ट्रिय उत्पादनको पनि प्रदर्शनी
महोत्सवमा यसपाली अन्तरराष्ट्रिय उत्पादनको पनि प्रदर्शनी हुने भएको छ । चीनको उद्योग बाणिज्य संघको समन्वयमा चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीसहित चाइनिज पेभेलियन रहने उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त पेभेलियनमा ७ वटा विशेष स्टल रहने छन् । यसका साथै महोत्सवमा कृषि परिसर, अटो परिसर, डोम, निर्माण एक्स्पो र रेष्टुरेन्ट परिसरसहित कुल ४३० वटा स्टल रहने महोत्सव आयोजक समितिले जनाएको छ ।
संघका उपाध्यक्ष राजेन्द्र वली, भिडियो
https://www.facebook.com/samriddhisanchar/videos/596993099616531
पुस २९ देखि फुड फेष्टिभल
महोत्सव अन्तरगत पुस २९ गतेदेखि माघ ७ गतेसम्म भने नारायणगढको क्याम्पाचौरमा फुड फेष्टिभल आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । फुड फेष्टिभलमा परम्परागत खानाको प्रवद्र्धन गरिने आर्थिक समितिका संयोजक कल्याण श्रेष्ठले जानकारी दिनुभयो ।
१५ दिनसम्म चल्ने महोत्सवमा विगतका झैँ विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभुषा, कला संस्कृति झल्कने मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम, दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति, बाल उद्यानलगायत सञ्चालन हुने जनाइएको छ ।
महोत्सवको ५ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड बढीको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
पूर्वअध्यक्ष तथा आर्थिक समितिका संयोजक कल्याण जोशी , भिडियो
https://www.facebook.com/samriddhisanchar/videos/599509012771383