सौराहा : चितवनको सौराहामा भएको १८औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव आज सकिएको छ ।
सासंद हरि ढकालले एक समारोहका बीच महोत्सवको समापन गरेका थिए। कार्यक्रमा बोल्दै उनले सौराहको पर्यटन क्षेत्रको समस्यामा समाधान गर्न जहिले पनि आफू कटिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष हरिभक्त घिमिरे जनावरवादी जहिले पनि महोत्सवको वेला मात्र हात्ती बारे चिन्ता गर्नु दुखद भएको बताउँदै हात्तीलाई निकुञ्ज घाँस खुवाउन पहल गर्न आग्रह गरे।
महोत्सवका संयोजक रामकुमार अर्यालले हात्ती महोत्सवले पर्यटन प्रर्वद्धनमा ठूलो योगदान गरेको बताए।
पुष ११ गतेदेखि १५ गतेसम्म आयोजित महोत्सवमा आन्तरिकसँगै बाह्य पर्यटक गरी ३५ हजारबढी पर्यटक सौराहामा भित्रिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले बताए। विविध जातजाति र सांस्कृतिको धनी सौराहामा वर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।
विश्वकै चर्चित चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र अन्य जंगली जनावर अवलोकनका लागी विशेष गरी पर्यटकहरु सौराहा आउने गरेका छन्। आन्तरिक तथा विदेशी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सौराहाका होटल व्यवसायीहरुले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
सौराहामा दुई दशकअघिदेखि आयोजना गर्दै आएको महोत्सवका कारण सौराहासहित चितवनमा हरेक वर्ष ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको महासचिव गुणराज थपलियाले बताए।
हात्ती महोत्सवअन्तर्गत हात्तीको श्रृङ्गार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग विटुवि गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्र्रिया कार्यक्रम भएको संघका कोषाध्यक्ष माधव दुवाडीले बताए।
महोत्सवको विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी भएका थिए। रत्ननगर नगरपालिका संरक्षक रहेको सो हात्ती महोत्सवको सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल रहेको थियो।