काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले नेपाली कला, संस्कृति, सम्पदा र इतिहासको संरक्षण र अभिलेखिकरण गर्न जरुरी रहेको बताउनुभएको छ।
नेपालमा व्यवस्थित अभिलेख नभएको र भएका अभिलेख पनि व्यक्तिले संरक्षण गरेर राखेको पाइएको उल्लेख गर्दै उपसभामुख रानाले राज्यले नै कला, संस्कृति र इतिहास संरक्षण गर्न आवश्यक देखिएको बताउनुभयो ।
काठमाडौँको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज भएको सिसी कला प्रदर्शनीको उद्घाटन गर्दै उपसभामुख रानाले भन्नुभयो, “नेपाली इतिहास दबिँदै गएको, नेपालमा केके भयषे रेकर्ड नै छैन, त्यो संरषण गर्न जरुरी छ ।”
उहाँले सिसीभित्र नेपालका सुन्दर इतिहास, कला संस्कृति, सम्पदाहरु उतारिनु अनुकरणीय काम भएको उल्लेख गर्नुभयो । उपसभामुख रानाले थप्दै भन्नुभयो, “यहाँ कला जस्ताको त्यस्तै सिसाभित्र उतारिएको छ, म धेरै देश घुमेको छु, तर यस्तो देखेकै छैन ।”
उपसभामुख रानाले यस्ता इतिहास संरक्षण हुँदा पर्यटन विकासमा समेत टेवा पुग्ने बताउँद ती कलाहरु बालबालिकाका लागि समेत सिकाइ हुने बताउनुभयो । राजनीतिक भनेको समाजसेवा भएको उल्लेख गर्दै उहाँले अहिले त्यस्तो नदेखिनु दुखद भएको औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कार्यवाहक कुलपति लालकाजी लामाले वास्तु संरचना र इतिहासलाई सिसाभित्र प्रस्तुत हुनु महत्वपूर्ण भएको बताउनुभयो ।
प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले नेपालमा नेपाली कलाकारले सिसाभित्र कला कोरेको र प्रदर्शनी गरेको पहिलो भएको दावी गर्दै यस्ता कला संस्कृति जोगाउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य सञ्जय वान्तवा, अरुणा हिङमाङ, डा राजु मानन्धरलगायतले धारणा राख्नुभएको थियो । प्रदर्शनी एक साता चल्ने छ ।
