काठमाडौँ, १५ पुस : लायन्स क्लब अफ काठमाडौँ ईन्द्रायणी, खुसिबुले धादिङको धुनिवेसी–४ स्थित जीवनपुर कुलचन्द्र आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ ।
क्लबका प्रतिनिधिहरु स्कुलमै पुगेर विद्यार्थीहरुलाई जुत्तामोजा, ट्रयाकसुट, टिसर्टका साथै व्याग, कापी र खेलकुदका सामग्रीहरु हिजो आइतवार उपलब्ध गराइएको लायन्स क्लब अफ काठमाडौँ इन्द्रायणीका अध्यक्ष अमरराज सुवालले जानकारी दिनुभयो ।
वितरण कार्यक्रमा अध्यक्ष सुवालसहित रमेश अधिकारी, बालकृष्ण बुर्लाकोटी, निरा बज्राचार्य, सलिना दहाललगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौँबाट निकै नजिकको पालिका भए पनि यो पालिका बत्तीमुनिको अँध्यारो जस्तो भएको गुनासो सुनाउनुभयो ।
उहाँले रााट्रिय राजमार्गसँग जोडिएको पालिका र राष्ट्रिय गौरवका आयोजना रहेको नगर भएता पनि पुर्वाधार र शिक्षा जस्ता कुरामा पालिका अझै पनि पछाडि रहेको बताउँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
लायन्स क्लब इन्द्रायणीका अध्यक्ष अमरराज सुवाल लायन्समा आबद्ध भएका साथै समाजमा केही गर्नुपर्छ भन्ने मान्यता बोकेका व्यक्तित्वहरुलाई समेत जोडेर आवश्यक परेकाहरुलाई सहयोग गर्ने सोच अनुरुप यो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
लायन्स क्लबका भाइस डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले लायन्सले समुदायको आवश्यकता बुझेर बिना सिफारिस साथ र सहयोग गर्ने गरेको जानकारी दिनुभयो । इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले संस्थाबारे जानकारी दिँदै समाजमा हरेक व्यक्तित्वलाई योगदान गर्न लायन्सले सिकाउने बताउनुभयो ।
विद्यालयकका प्रधानाध्यापक देवी पौडेलले आफू हालै मात्र विद्यालयमा आएको र विद्यालयको अवस्था सुधार गर्न लागि परेको जानकारी दिनुभयो ।
विद्यालयका विद्याथीहरुमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका रहेको र अति न्युन आय भएकाहरुकै बाहुल्यता रहेकाले पनि आफ्नो पहिलो उद्देश्य शैक्षिक वातावरणको सुधार रहेको बताउनु भयो ।