काठमाडौँ, १३ पुस । काठमाडौँसहित आज देशभरकाे माैसम बदली भएकाे छ । उपत्यकामा धुम्म बादल लागेकाे छ ।
देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले माैसम बदली भएकाे हाे ।
कतिपयस्थानमा दिउँसाेतिर सामान्य वर्षा समेत हुने जल तथा माैसम विज्ञान विभाग, माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ।
माैसमविद् सञ्जीव खधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। उहाँका अनुसार हिजाे साँझ पश्चिम नेपालबाट बदली सुरूभई आज अधिकांश क्षेत्रमा फैलिएकाे हाे ।
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा समेत भइरहेको महाशाखाले आज विहान जारी गरेकाे वुलेटिनमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात पनि भइरहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी
सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा साथै गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहने छ ।
साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको छ ।
यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।