सौराहा : चितवनको सौराहामा आजदेखि १८ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव भव्य समारोहका बीच सुरु भएको छ ।
महोत्सवको उपप्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको थियो। उहाँले नेपालको सफारी पर्यटनलाई धानेको सौराहामा गरिएको हात्ती महोत्सवको विरोध गर्नुको कुनै तुक नरहेको बताउनुभयो ।
सो अवसरमा मन्त्री सिंहले महोत्सवलाई वन्यजन्तुमैत्री बनाउँदै पर्यटन प्रवर्द्धन बनाउनुपर्नेमा जोड दिनुभयो ।
क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि गरेर महोत्सव गर्दै आएको छ। महोत्समवा आज भएको हात्तीहरुको पेनाल्टी सुटआउटमा वसन्तीकली हात्ती समूह विजयी भएको छ।
यो समूहले सेल्फीकली हात्ती समूहलाई पेनाल्टी सुटआउटमा १-० ले हराएको हात्ती व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिनुभयो । प्रत्येक समूहमा ४-४ वटा हात्ती रहेका थिए। जसमा वसन्तीकलीले मात्र १ गोल गर्न सफल भइन् । उक्त गोलले नै टोली विजयी भयो।

पुस १६ गतेसम्म हुने महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी, हात्तीको म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावनाको विषयमा अन्तक्रिया हुने महोत्सव संयोजक रामकुमार अर्यालले बताउनुभयो। सरकारी र निजी गरी ८० वटा हात्तीलाई महोत्सवमा सहभागी गराइएको क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल महोत्सवका सह–आयोजक रहेको महोत्सवकै कारण सौराहामा वार्षिक पर्यटक बढ्ने गरेको बताइएको छ ।
संघका कोषाध्यक्ष माधव दुवाडीले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, समेत रहेको जानकारी दिनुभयो ।
महोत्सव उद्घाटन अघि वृहत् झाकी सहितको र्याली निकालिएको थियो। शोभा यात्रा महोत्सव स्थल बाघमारा चौर पुगेर समापन भएको थियो ।
व्यवसायीले महोत्सव अवधिमा सौराहा घुम्न आउने पर्यटकहरूलाई पुस १० देखि १६ गतेसम्म होटेल तथा रेस्टुरेन्टमा खाना तथा आवासमा १० प्रतिशत छुट घोषणा गरेका छन् ।
