काठमाडौँ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । आज साँझबाट सुदूरपश्चिम प्रदेशमा बदली भएकामा अहिले प्रदेशभरी फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार राती कणाली प्रदेशमा पनि फैलिने र विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने छ । माथि सर्दै जाँदा प्रणाली भने केही कमजोर भए पनि असर भने देखिने उहाँले बताउनुभयो । भोलिसम्म बदली कायम रहने र पर्सीदेखि केही कमजोर हुँदै जाने पनि लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र भोलि उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुने पनि उहाँले बताउनुभयो ।
महाशाखाले आज साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव हुने देखिएको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशको थोरै स्थान तथा कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ ।
चिसो बढ्न सुरु
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु भएको छ । गएको मङ्सिर अन्तिम साता नेपालमा चिसो ह्वात्तै बढेर विस्तारै घटेकोमा आजबाट पुन चिसो बढ्न थालेको छ ।
विभागको अभिलेखमा हाल काठमाडौँको न्युनतम तापक्रम ४.३ डिग्री रहेको छ । यसअघि पुस ४ गते काठमाडौँको तापक्रम ४.८ डिग्री थियो ।
यस्तै आज जुम्लाको न्युनतम तापक्रम माइनस ७.८ डिग्रीमा झरेको छ । पुस ४ गते त्यहाँ माइनस ७.२ डिग्री थियो ।
अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको जनाइएको छ ।