काठमाडौँ : नेवाः लोककला प्रवद्र्धन गर्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)को आयोजनामा आज बुधबार काठमाडौँमा नेवाः लोक कलासम्बन्धी कार्यशाला आयोजना गरिएको छ ।
यःमरि पुन्हीका अवसरमा कार्यशालासँगै नेवाः संस्कृतिविद् गणेशराम लाछीसँग अन्तरसंवाद कार्यक्रमसमेत भएको थियो । सो सन्दर्भमा लाछीले यःमरि र यसमा भएको नेवाः लोककलाका विविध आयाम र पक्षका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यःमरि नेवाको मौलिक खाद्य कला भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यःमरिलाई नेपालको महत्त्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गर्नुभयो । नेवारी सांस्कृतिक कला जीवनदर्शनसँग पनि जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोककलामा यःमरिलाई मूर्तिकलाका रूपमा लिन सकिन्छ । यसका बारेमा थप खोज तथा अनुसन्धान गरिनु जरुरी छ ।”
कार्यक्रममा प्रतिष्ठानमा उपकुलपति लालकाजी लामाले नेवाः कलाले नेपाली संस्कृतिलाई समृद्ध तुल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले रैथाने कलाभित्रका संस्कृतिलाई प्रचार–प्रसार गर्न र ललितकलासँग जोडी पुस्तान्तरण गर्ने अभियानका क्रममा यस कार्यक्रमको आयोजना गरिएको धारणा राख्नुभयो ।
प्रतिष्ठानको लोककला विभाग प्रमुख प्रदीप अधिकारीले नेवाः समुदाय लोकसंस्कृति, लोकपरम्परा तथा लोककलामा धनी रहेको बताउनुभयो । उहाँले यस समुदायले आफ्नो सांस्कृतिक विरासतलाई आत्मसाथ गर्दै हालसम्म जोगाएको संस्कृतिको विषय महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको पिँढीमा हाम्रो मौलिक लोकसंस्कृतिको चेतना तथा अपनत्वको भाव शून्यप्रायःरहेको अवस्थामा आजको कार्यक्रम लोकसंस्कृतिको संरक्षण तथा विकासमा प्रभावकारी हुने छ भन्ने विश्वास लिएको छु ।”
उक्त कार्यक्रम संयोजक मनरा प्रजापतिले नेवारी समाजमा प्रत्यक्ष रूपमा अमूर्त संस्कृति देख्न सकिने बताउनुभयो । उहाँले यस्ता कला पहिचान मात्र नभएर आममानिसको चासोको विषय पनि बनेका कारण यो कार्यक्रम विशेष महत्त्वको भएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, सौरगंगा दर्शनधारी, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य संगी श्रेष्ठ, प्राज्ञ एस.सी सुमन, लेखक विक्रममणि त्रिपाठीलगायतको सहभागिता थियो ।