काठमाडौँ : चितवनको माडी नगरपालिका ६, स्याउलीबासस्थित दामोदर देवकोटाको मिराकल गार्डेन प्रालिले माडीकै सिधुवा गाउँको तोरीबारी फाँटमा चरनका लागि राखेको मौरीको घारमा तोडफोड र आगजनी भएको छ।
मौरीले टोकेको भन्दै एक स्थानीयले मंगलबार साँझ घारहरु तोडफोड गरी आजगनी गरेका हुन्। चरनका लागि १५ घार सुपरसहित २९ गोला मौरी रहेको सो स्थानका सबैजसो गोलाहरुमा तोडफोड हुनुका साथै केही घारसहित मह काढ्ने यन्त्रमा आगजनी गरिएको छ । तोडफोड र आगजनीबाट करिब ५ लाख रुपैँयाको क्षति भएको मौरीपालक कृषक दामोदर देवकोटाले बताउनुभयो ।
उक्त घटनाको नेपाल मौरीपालक महासंघले भत्सना गर्दै दोषीलाई कडा कारबाही र पीडित किसानलाई क्षतिपूर्तिको माग गरेको छ । नेपाल मौरीपालक माहासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा (पौडेल)ले माडीमा मौरीपालक किसान दामोदर देवकोटाको तोरीको चरनमा राखेको मौरीमा आगो लगाउने र तोडफोड गरिएको अपराधिक घटनाले मौरीपालक किसानलाई चिन्तित बनाएको उल्लेख गर्दै दोषीलाई कडाभन्दा करबाही र किसानलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।

यस्ता विकृतिहरु हाम्रो समाजमा दिनानुदिन बढ्दै गएकोप्रति महासंघले चिन्ता प्रकट गरेको छ । मौरीपालक किसान दामोदर देवकोटाको मिराकल गार्डेन प्रालिका मौरी गोलाहरु चरनका लागि माडीकै सिधवा गाउँमा राखेकोमा मिति २०८१ पौष २ गते मंगलवार दिनमा मह उत्पादन गरिएको थियो।
मौरीपालक किसानलाई बिना जानकारी मंगलवार रातमा कोही नभएको बेला एक स्थानीय व्याक्तिले मौरीले टोकेको निहुँमा मौरीका गोलाहरुमा तोडफोड र आगजनी गरेर ठूलो क्षति पुर्याएकोमा नेपाल मौरीपालक महासंघले भर्त्सना गरेको हो ।
‘यस्ता दुषित मानसिकताधारी अपराधीको पहिचान गरी निजलाई कडाभन्दा कडा सजायँ साथै पीडित किसानलाई भएको नोक्सानीको उचित मूल्यांकन गरी क्षतिको भर्पाइ गराईपाऊ भनि स्थानीय सरकार साथै सरोकारवाला निकायसँग जोडदार मागका गर्दर्छौँ’, नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
भिडियो
https://www.facebook.com/samriddhisanchar/videos/1632900704301022
मौरीपालन व्यवसायबाट मौरीपालक किसानले लिने फाईदाभन्दा बढी फाईदा स्थानीयस्तर जहाँ मौरी चराइन्छ त्यही समुदायले मौरीले गराउने परागसेचनमार्फत खेतिबाली उत्पादन वृद्धिबाट प्राप्त गर्ने महासंघले जानकारी गराएको छ ।
जनचेतनाको कमीले उब्जिएको समस्या भन्दा पनि मौरीपालक किसानले मौरी चरनबाट गरेको महको उत्पादन आम्दानीको रिसले अबुझ भएको जस्तो गरेर सानातिना कुरामा निहुँ खोजेर मौरीपालक किसानलाई अप्ठेरो परिस्थिति बनाई मौरी चराउन नदिने, धम्काउने मौरीघार पल्टाउने, फ्याक्ने, लडाईदिने, जलाउने जस्ता कार्यबाट मौरी किसानको ठूलो नोक्सानी बेहोर्नु परिरहेको महासंघले जानकारी गराएको छ ।
