काठमाडौँ, २ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपाली ज्ञान, परम्परा, शैली र शिल्पलाई नवपुस्तामा हस्तान्तरण गर्नु आजको आवश्यकता भएको बताउनु भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आज ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ को उद्घाटन गर्दै मन्त्री साहले त्यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कला पर्यटनको विकास तथा स्वरोजगार, आत्मनिर्भर एवं कलामार्फत अर्थतन्त्रको योगदानमा पनि यस किसिमका प्रदर्शनीले विशेष महत्त्व राख्दछ । यसले एकातिर फरक क्षमता भएका व्यक्तिहरूको कला सिर्जनाको उजागर तथा अवसरको प्रदान गरेको छ भने साङ्ग व्यक्तिबाट भएको कला सिर्जनाले सहकार्य, मित्रता, सामाजिक ऐक्यबद्धता, कर्तव्यको बोध पनि गराएको छ ।”
उहाँले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका सन्दर्भमा प्रतिष्ठानले आयोजना गरेको यस प्रदर्शनीले विशेष रहेको पनि बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका सन्दर्भमा आयोजित प्रदर्शनीमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरणका लागि अभियानका रूपमा यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भिडियो
https://www.facebook.com/samriddhisanchar/videos/1639516523314599
उहाँले समाजका सबै विधा तथा क्षेत्रलाई मानवीयताका रूपमा समेट्ने माध्यम नै कला भएको धारणा राख्नुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले फरक क्षमता भएका कलाकारहरूलाई प्रोत्साहित गर्न यस कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले अपाङ्गता भएका व्यक्तिहरूका सम्बन्धमा बनेका कानुन कार्यान्वयनसँगै र उनीहरूलाई राज्यको हरेक कुरामा जोड्नुपर्ने बताउनुभयो ।
समारोहमा छोग्याल रिम्पोछे (कर्मा पुन्चोक लामा)लाई कदर–पत्र प्रदान गरिएको थियो । उहाँले कलालाई आर्ट थेरापी र सिर्जना दुवै मान्न सकिने बताउनुभयो ।
प्रदर्शनीमा कुलपति नारदमणि हार्तम्छाली, प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य र किरण मानन्धर, परिषद सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, कला समीक्षक रमेशनाथ खनाललगायत कलाकारका ६० कला समावेश छन् ।

प्रदर्शनीमा अपांगता भएका कलाकारको समेत कलाकृति हेर्न पाइन्छ । यहाँ भुवन थापा, धनबहादुर याख्खा, केशवराज खनाल, एनबी गुरुङ, अक्कलबहादुर तामाङ, एन्जिला जोशी, अर्जुन तामाङ, बलबहादुर सार्की, भीम सुब्बा तामाङ, भोजबहादुर तामाङ, विभूषण ताम्राकार, बिनोद लामगाडे, विपना महर्जन, विशाल दाहाल, बुद्धिमान तामाङ, दावा साङ्मो शेर्पा, धनमाया बुढामगर, दिवेशमान प्रधान, दीपेन्द्रमान बनेपाली, गणेश चौधरी डगौराको पनिकलाकृति समावेश छ ।
यस्तै गौरवरत्न बज्राचार्य तुलाधर, हीरा तामाङ, जयबहादुर कार्की, कविनाश बज्राचार्य, किरण सिगु, किशोर नकर्मी, लक्ष्मी भासिमा, मनिष महर्जन, मिङ्मा टेम्बा शेर्पा, नन्द सुनार, नवाङ छिरी शेर्पा, निमा तामाङ, नीरबहादुर तामाङ, प्राश्ना थापा, रुद्रबहादुर पुन, सान्नानी श्रेष्ठ, सरिता डङ्गोल, सोनाम सिंह भ्लोन, सुजेन बज्राचार्य, सुन्दर श्रेष्ठ, तेजबहादुर घर्ति मगरका कलाकृति पनि प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनी यही पुस ५ गतेसम्म चल्ने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।
https://www.facebook.com/samriddhisanchar/videos/797988665792799