काठमाडौँ । चितवनमा बयान सकेर पोखरा पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेमाथि लागेको आरोप पुष्टि हुनेगरी प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पार्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो अनुसन्धान सकेर प्रतिवेदनको तयारी गर्दैछ । केही दिन भित्रै अनुसन्धान प्रतिवेदन बुझाउने कास्की प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतहरूले प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिरहेका छन् ।
लामिछाने कार्तिक २ मा काठमाडौँबाट पक्राउ परेका थिए । उनीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ । कास्कीका कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार म्याद लिन बिहीबार रवि सहितका ५ जना प्रतिवादीलाई अदालतमा उपस्थित गरार्इँने भएको छ ।
संसदीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि सूर्यदर्शन सहकारीकको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा सबैभन्दा पहिले पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । उनी असोज ६ मा पक्राउ परेका हुन् । प्रहरीले उनीहरू विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान गरिरहेको हुनाले ९० दिनभित्र मुद्दा अदालतमा दर्ता गरिसक्नु पर्नेहुन्छ । जोशी पक्राउ परेको दिनबाटै अरू ४ जनाको म्याद मिलान भएको हुनाले पुस ५ मा कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर गर्नुपर्ने कानुनी व्यवस्था छ ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले मुद्दाको अभियोग पत्र तयार गर्न जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १० दिनको समय मागेको जनकारी दिए । ‘त्यसैले पनि कम्तीमा ७ दिनअघि बुझाउने गरी प्रतिवेदन तयारी भइरहेको छ ।’
सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा लामिछाने, जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका राम बहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङ प्रहरीको हिरासतमा छन् । पक्राउ परेका भन्दा बाहेक कम्तीमा ३५ जनालाई फरार प्रतिवादी कायम गर्न प्रहरीले राय दिने भएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘पक्राउ परेका ५ जनाभन्दा बाहेक ३५ जनालाई फरार प्रतिवादी हुन्छन् ।’
सूर्यदर्शन, स्वर्णलक्ष्मी, सहारा र सानो पाइलाबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रकम ल्याएर अपचलन गरेको सूर्य थापा नेतृत्वको संसदीय समितिको छानबिन निष्कर्ष छ । सूर्यदर्शनबाट मात्रै गोरखा मिडियामा ५ करोड ५८ लाख ल्याएको भेटिएको छ ।
लामिछानेले भने हरेक पटक इन्कारी बयान दिदैँ आएका छन् ,
पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नभएको रविले बयानमा बताएका छन् । बयानमा उनले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइनँ ।’
जीबी राई सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् ।
सूर्यदर्शनमा आफूले बचत खाता तथा लोन खाता नखोलेको लामिछानेले बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्, ‘मैले उक्त सहकारीबाट ऋण लिएको छैन ।’
आफ्नो नाममा ऋण निकासा भएको बारेमा लामिछानेले अनभिज्ञता जनाएका छन् । उनले भनेका छन्, ‘मेरो नाममा ऋण निकासा भएको बारेमा मलाई जानकारी छैन ।’
गितेन्द्रबावु (जीबी) राईले खोलेको कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिले सञ्चालन गरेको ग्यालेक्सी फोरके टिभीमा आफूलाई ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्न अनुरोध आएपछि त्यहाँ गएको बताएका छन् । गोर्खा मिडियामा आफूले १ करोड ८० लाखको सेयर लिएको उनले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘१ करोड ८० लाखको सेयर मलाई दिने र सो सेयर पारिश्रमिकमा कट्टा गर्ने सर्तमा गोर्खा मिडियामा गएको थिएँ ।’
उनले इन्कारी बयान दिएको भएपनि अनुसन्धानका क्रममा भेटिएका प्रमाणहरुका आधारमा अनुसन्धान प्रतिवेदन तयार पार्न प्रहरी कस्सिएर लागिरहेको छ ।