काठमाडौँ : सरकारले आय विवरण दाखिला गर्ने समय पुस मसान्तसम्मका लागि थप गरेको छ ।
आन्तरिक राजस्व विभागले निजी क्षेत्रका विभिन्न व्यवसायिक व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेश गर्ने म्याद २०८१ पौष मसान्तसम्म कायम गरिदिन भनी अनुरोध भई आएकाले यस विभागको निर्णयानुसार माग भइ आएको खण्डमा पुस मसान्तसम्म थप हुने आज जानकारी गराएको छ ।
विभागले आज एक सूचना जारी गर्दै भनेको छ, ‘वार्षिक कारोबार रु १ (एक) करोड भन्दा बढीको कारोबार गर्ने करदाताहरुले आव २०८०÷०८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबाट स्वचालित रुपमा २०८१ पौष मसान्तसम्म म्याद थप हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यसअघि विभागको यही असोज ४ गतेको निर्णयानुसार वार्षिक रु २५ करोडसम्म कारोबार गर्ने करदाताहरु र कारोबार भएका निकायहरुको सम्बन्धमा मंसिर मसान्तसम्म र वार्षिक रु २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरुको सम्बन्धमा पौष २० गतेसम्म आय विवरण पेश गर्न पाउने गरी म्याद थप गरिएको गरिएको थियो । अब माग भए अनुसार एक करोडभन्दा बढीको कारोबारका हकमा स्वचालित रुपमै पुस मसान्तसम्म म्याद थप हुने छ ।
आयकर ऐन, २०५८ को दफा ९६(१) मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्रमा दफा ९७, ९८ र १०० को अधिनमा रही सो वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने उल्लेख छ ।
सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्यादभित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले एकै पटक वा पटकपटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था रहेको विभागले जनाएको छ ।
ऐनमा उल्लेखित व्यवस्था बमोजिम हाल विभागको कम्प्यूटर प्रणालीमा करदाताले बढीमा तीन महिनासम्मको म्याद थप माग गरेमा स्वचालित रुपमा म्याद थप हुने व्यवस्था रहेको छ ।