काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताउनुभएको छ ।
आज काठमाडौँमा वरिष्ठ अधिवक्ताहरुलाई प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानन्यायाधीश राउतले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “न्यायालय लयमा फर्किएकोमा मात्रै चित्त बुझाउने हो की गरिमामय बनाउने हो, यो आफैँ गरिमामय त बन्दैन है । यसलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिभेषले हामी सबैलाई सुम्पेको छ , हामीले आफूलाई निर्मम समीक्षा गर्न जरुरी छ, हामीले न्यायालयलार्ई गरिमामय बनाउन सकिरहेका छौँ की छैनौँ, त्यसतर्फ हाम्रो भूमिका उन्मुख छ की छैन? विचार गर्नुपर्ने भएको छ ।”
उहाँले आफू भने न्यायालयलाई गरिमामय बनाउन तयार रहेको बताउँदै साथ दिन वरिष्ठ अधिवक्ताहरुसँग अनुरोध पनि गर्नुभयो ।
प्रधानन्यायाधीश राउतले थप्नुभयो, “मेरो हकमा कुरा गर्नुहुन्छ भने म तयार छु, तपाईहरुको साथ सहयोग र सहकार्य गर्न पाए न्यायालय गरिमामय नहुने कुरै छैन, एकपटक प्रयास त गरौँ, म नम्रतापूर्व सम्पूर्ण वरिष्ठ अधिवक्ताहरुमा नमन गर्न चाहन्छु ।”
भिडियो यहाँ :
https://www.facebook.com/samriddhisanchar/videos/476161848372954
उहाँले वरिष्ठ अधिवक्ताले उच्च तहको मर्यादाको अभ्यास गर्नुपर्नेमा जोड दिँदै नैतिकताको लक्ष्मण रेखाभित्र बस्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी स्वार्थ, अनुचित, नाजायज र वेमनासिव कुरालाई त्याग्न सकिएन भने नैतिकता जोगाउन नसकिने बताउनुभयो ।
उहाँले प्रमाण र तथ्य नै नपुगेका मुद्दा अघि नबनाउन सुझाव पनि दिनुभयो । मुद्दा टिक्दैटिक्दैन थाहा छ, विद्वानहरुलाई यो मुद्दा काम नै लाग्दैन, टिक्दैटिक्दैन, प्रमाण र काुननका आधारमा न्याय दिनै सकिँदैन भन्ने जस्ता मुद्दा अदालत पुगेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “कहिले साथी, कहिले पावर सेन्टरको दवावमा कहिलेकाहिँ आकर्षक पारिश्रमिकको आधारमा पुग्छ नी, त्यतिखेर टिक्दै नटिक्ने मुद्दामा वरिष्ठ ज्यूहरुको अदालतमा उपस्थिति देखियो भने इमेज कस्तो होला?, स्तर कस्तो होला? अरुले पनि नियाल्छ नी, जस्तै हामी न्यायधीशहरुलाई अरुले नियालेका छन् नी, इमेज कस्तो हुन्छ? यसको उत्तर मैले दिनु सोभनीय हुन्न, यो जिम्मा मैले तपाईहरुलाई छाडेँ ।
उहाँले अदालतमा पुग्नै नहुने मुद्दा पुग्यो भने चाहिँ अदालतको किम्मति समय नै बरबादी हुने र अदालतको समयमाथि अन्याय भयो भने न्यायपालिकामा छलाङ मार्ने कुरा हुन नसक्ने बताउनुभयो ।
समारोहमा महान्यायाधिवक्ता रमेश बडालले वरिष्ठ अधिवक्ताको गरिमा जोगाउन कानुन व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । अर्धन्यायिक निकायमा वरिष्ठ अधिवक्ताहरु जान नहुने, कुनै पनि मुद्दाका बहसमा जाँदा एकजना अधिवक्ता सहयोगी भएर जानुपर्ने स्पष्ट व्यवस्था भए पनि त्यो अभ्यास नभएको उल्लेख गर्दै उहाँले यसतर्फ वरिष्ठ अधिवक्ताहरुले ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा वरिष्ठ अधिवक्ताको प्रमाणपत्र ग्रहण गर्नुभएका डा. भीमार्जुन आचार्यले अब न्याय निरुपणमा प्रविधिको विकासले चुनौती खडा गरेकाले त्यसतर्फ ध्यान दिन सकिएन भने गरिमामाथि आँच आउने बताउनुभयो । उहाँले अधिवक्ताहरुले पनि विधागत विशेषज्ञ भएर अघि बढ्न जरुरी रहेको औँल्याउनुभयो ।
समारोहमा सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता कविता बस्नेतलगायतले धारणा राख्नुभएको थियो । आज कार्यक्रममा प्रधानन्यायाधीश राउतले १५९ जना वरिष्ठ अधिवक्ताहरुलाई प्रमाणपत्र दिनुभएको थियो ।