काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली कला, संस्कृति र सीपलाई नवपुस्तामा हस्तान्तरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौँमा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १७औँ प्राज्ञसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेलेनेपाली कलालाई विश्वमा पुरयाउन सके महत्व अझै बढ्ने पनिबताउनुभयो । सभामा सम्बोधन गर्नु हुँदै उहाँले सिर्जनशील हुँदै उपलम्बिमुलक काम गर्न प्रतिष्ठानका अधिकारीहरुलाई आग्रह पनिगर्नुभयो ।
कार्यक्रमम मन्त्री पाण्डेले भन्नुभयो, “वर्तमान अवस्थामा न्यूनतम स्रोत र साधनबीच पनि कसरी सिर्जनशील र धेरै परिणाम निकाल्ने काम गर्नुपर्छ भन्नेमा हामीले सोच्नुपर्छ”, यसतर्फ ध्यान जाओस् ।”
प्रतिष्ठानको सक्रियता प्रशंसनीय भएको र थप सक्रियताका लागि शुभकामना दिँदै उहाँले थप्नुभयो, “नेपाली कला, सिपलाई नवपुस्तामा हस्तान्तरण गर्दै समयानुरूप विश्वमञ्चमा अघि बढाउनुपर्छ । मन्त्रालयका तर्फबाट ललितकलाको विकासका लागि सक्दो सहयोग हुनेछ । यस सभाले प्रतिष्ठानको आगामी दिशाबोध राम्ररी गरोस् ।”
समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञसभामार्फत विस्तृत रूपमा आन्तरिक तथा आगामी रणनीतिक विषयमा छलफल हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “युगको गतिशिलताअनुसार प्रतिष्ठानले काम गर्नुपर्ने छ । त्यसकारण हामी मनोगत र वस्तुगत तयारी गरी अघि बढ्ने छौँ । सांस्कृतिक क्षेत्रको पुनर्ताजगीका लागि प्राज्ञिक क्षेत्रले बोध गर्ने समय अहिले नै हो ।”
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले ३ वटै केन्द्रीय प्रतिष्ठानमध्ये ललितकला प्रज्ञा–प्रतिष्ठानको काम अघि रहेको बताउनुभयो । उहाँले प्राज्ञसभाले आगामी दिनका लागि राम्रो निचोड निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिष्ठान स्थापनाकालदेखि हालसम्मको अवस्थामा निरन्तर परिपक्व हुँदै गएको धारणा राख्नुभयो । उहाँले प्रतिष्ठानलाई ललितकलाका क्षेत्रमा थप अग्रसरता लिएर काम गर्न पर्याप्त बजेटको अभाव रहेको बताउनुभयो ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानले ललितकला क्षेत्रको पुनर्जागरणका लागि ललितकलालाई स्थानीय तहदेखि नै सक्रिय पार्न आवश्यक रहेको र यो क्रम जारी रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले आ.व. २०८१÷८२ को प्रथम त्रैमासिकमा गरेका कार्यहरूको चर्चा गर्दै विभिन्न पालिका, महानगर, सङ्घसंस्थालगायतसँगको सहकार्यमा गरेका कार्यहरूको समेत चर्चा गर्नुभयो ।
यस प्राज्ञसभाले ललितकला क्षेत्रको आगामी दिनको मार्ग तय गर्ने उहाँले बताउनुभयो । “अहिले नेपाली कलालाई मौलिकतासहित सैद्धान्तिकीरण गर्नुपर्ने र संस्कृति, प्रकृति र कलालाई विकासका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ”, थुम्केलीले भन्नुभयो ।