काठमाडौँ : प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले धर्मपत्नी स्वर्गीय अनिता आचार्यको स्मृति दिवसका अवसरमा आज ‘संसारमा तिमीलाई….’ बोलको स्मृति गीत बजारमा ल्याउनुभएको छ ।
आज काठमाडौँमा आयोजित एक समारोहका बीच उक्त गीत लोकार्पण गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्मृति गीत बनाएर खनालले आम नागरिकलाई सत्कार्य, सहकार्य र असल कर्ममा प्रेरित गर्नुभएको महसुसभएको बताउनुभयो । अध्यक्ष बस्नेतले पत्नीको स्मृतिमा लेखिएको यो गीत उहाँको परिवार मात्रै नभई समाजकै लागि उदाहरणीय कार्य भएको उल्लेख गर्नुभयो ।
समाजमा श्रद्धाञ्जलि गीत धेरै नसुनिने बताउँदै उहाँले भन्नुभयो, “यो रचनात्मक प्रयास भएको छ, अब शरीर त भेटिँदैन तर गीतले सधैँ भेटिरहने, महसुस गरिरहने र कहिल्यै नमेटिने काम गर्नुभएको छ, यसले समाजलाई पनि सकारात्मक सन्देश दिएको छ ।”
भिडियो यहाँ :
https://www.facebook.com/samriddhisanchar/videos/9080192048686914
प्रेस काउन्सिलले पनि सामाजिक सञ्जाल र युट्युवलाई सकारात्मक सन्देश दिनका लागि प्रेरित गर्दै आएको सन्दर्भ जोड्दै अध्यक्ष बस्नेतले दुखद परिघटनालाई जोडेर समाजलाई ठूलो सन्देश दिने प्रयास भएको छ, यस्तै सन्देश सामाजिक सञ्जाल युट्युवहरुले दिन जरुरी रहेको बताउनुभयो ।
उहाँले स्व अनिता आचार्य जस्ता व्यक्ति अकालमा गुमाउने अवस्था आउन नदिन नागरिकले क्यान्सर जस्तो रोगको सस्तो र सहज उपचार गराउन पाउने अवस्था सिर्जना गर्नतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकारहरुले पनि यसतर्फ गम्भीर भएर कलम चलाउनुपर्ने अवस्था रहेको अध्यक्ष बस्नेतको भनाइ थियो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता खनालले तरङ्गहरु घटनाले निम्त्याउने उल्लेख गर्दै त्यही कारण गीत लेखिएको स्मरण गर्नुभयो । सुरुमा गीत बनाउन नखोजिएको तर साथीहरुको साथ र सुझावले आफ्ना भावना गीतमा परिणत भएको बताउनुभयो । उहाँले क्यान्सरकै कारण धर्मपत्नी आचार्यको निधन भएको जानकारी गराउँदै त्यस विषयमा सचेतना दिने खालको सन्देश दिन पाएको भए अझै राम्रो हुने महसुस भएको सुनाउनुभयो ।
खनालले भन्नुभयो, “उनलाई गुमाउँदाको पीडा एकातिर छ भने त्यतिबेला गरेको प्रणअनुसार उनको स्मृतिमा आज गीत ल्याउन पाउँदा दुःखमा सुख मिसिएको महसुस गरेको छु ।”
आचार्यको २०७८ साल मङ्सिर २१ गते निधन भएको थियो । उहाँकै सम्झनामा निकालिएको गीत आज काउन्सिलका अध्यक्ष बस्नेतले माउस क्लीक गरेर लोकार्पण गर्नुभएको थियो ।
गीत मिर्मिरे नेपाल युट्युव च्यालनबाट सार्वजनिक भएको हो । खनालले लेख्नुभएको गीतमा पुरुषोत्तम न्यौपानेको सङ्गीत छ भने मातृका आचार्यले स्वर दिनुभएको छ ।
