काठमाडौँ : कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा आयोजकको कमजोरीले आज स्थिति तनावपूर्ण भएको छ।
टिकट काटेका दर्शकले समेत प्रवेश नपाएपछि स्थिति असहज भएको थियो । जसका कारण झडप नै भयो । प्रहरीले लाठी चार्ज गरेर भीड नियन्त्रणमा लिएको थियो ।
टिकट काटेका दर्शकलाई व्यवस्थित रूपमा प्रवेश गराउन नसक्दा मैदान बाहिर भीडभाड हुनुका साथै नाराबाजी, ढुङ्गामुढा र लाठी चार्ज भएको हो । यसबाट दर्शक जयन श्रेष्ठ, शिशिर गौतम, केशव आचार्य, केशव मेगी र प्रेम खड्गी घाइते भएका छन्।
यसैगरी दुईजना सुरक्षाकर्मी पनि घाइते भएका छन्। केन्द्रीय प्रहरी विशेष कार्यदल कपन दरबन्दी रहेका सङ्घीय संसद् सुरक्षा बेस बानेश्वरमा कार्यरत प्रहरी जवान अजय तामाङ र दानबहादुर राउत घाइते भएका छन्। तामाङ गम्भीर भएकाले बाँसबारीको न्यूरो अस्पतालमा भर्ना गरिएको छ।
मैदानको दक्षिणतर्फ रहेको मुख्य प्रवेशद्वारमा टिकट र पास लिएका दर्शकले समेत प्रवेश पाउन निकै सङ्घर्ष गर्नुपर्यो। दर्शक एक लाइन नहुँदा सुरक्षाकर्मीले प्रवेश दिएनन् र झडप हुने अवस्था आयो।
त्यहाँ अत्यधिक भीड भएपछि दक्षिणपूर्वी प्रवेशद्वारमा पुगेका दर्शकले त्यहाँबाट पनि प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेका थिए। त्यसपछि प्रहरीले लाठी चार्ज गरेको थियो। त्यसको प्रतिवाद गर्दै दर्शकले ढुङ्गामुढा गरेका थिए।