काठमाडौँ : गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत गैरकानुनी अभिव्यक्ति सार्वजनिक भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाउँदै कानुनले दण्डित गरेका गतिविधि नगर्न र नगराउन सचेत गराएको छ ।
मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारीले सामाजिक सञ्जालहरुमा देखिएका त्यसता अभिव्यक्तिले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याउने हुँदा संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्ने जानकारी गराउनु भएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुरÞ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मन्त्रालयले त्यसरी जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे/गराए पनि कानूनद्वारा वर्जित र दण्डनीय हुने भएकाले त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने हुँदा गैरकानुनी कार्य नगर्न/नगराउनु सबैमा अनुरोध छ ।
मुलुकले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको सन्दर्भमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति गृह मन्त्रालय सदैव सचेत रहेको विज्ञप्तिमा जनाइएको छ ।
संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि यस मन्त्रालय क्रियाशील र प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
विभिन्न जातजाति, धर्म सम्प्रदायवीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरूलाई निरुत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको पनि मन्त्रालयले जानकारी गराएको छ ।
