काठमाडौँ : काठमाडौँ उपत्यकामा कल सेन्टर सञ्चालन गरी नेपालीहरुलाई गैरकानुनी रुपमा काममा लगाई क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जना विदेशी नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज दिएको जानकारी अनुसार चिनिया नागरिक लिन क्वीङ झिङ झ्वाङ र फिलिपिनी नागरिक हनिपा अपायार्टलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
उनीहरु र नेपालीसहित ३६ जनामाथि १० करोड ३४ लाख ९३ हजार विगो मागदावीसहित मुलुकी अपराध संहिता, २०७४ (संशोधन सहित) परिच्छेद ७ (क) दफा २६२ (क) ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको थियो ।
उनीहरुलाई गएको भदौ २६ गते सिआइबीले ललितपुर महानगरपालिका वडा नं. १३ एकान्तकुनामा जगदिश उपाध्यायको तीनतले घर भाडामा लिई कल सेन्टर सञ्चालन गरिरहेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालेको थियो ।
त्यसबेला नेपाली युवा युवतीहरुलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाई गैह्रकानुनी रुपमा काममा लगाई क्रिप्टो कारोबार गरेको आरोपमा तीन जना विदेशी नागरिकहरुसहित ५० जना पक्राउ परेका थिए ।
पक्राउ गरिएका विदेशी नागरिकसहितका नेपाली व्यक्तिहरु त्यसअघि संयुक्त अरब ईमिरेट्समा सोही प्रकृतिको कारोबारमा समेत संलग्न भएको अभियोगमा पक्राउ परी सम्बन्धित देशहरुमा डिपोट भएका अनुसन्धानमा खुलेको छ । त्यसपछि उनीहरु पुनः नेपालमा एकिकृत भई कल सेन्टर खोली क्रिप्टो कारोबार गरेको भेटिएको सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
मुद्दा दर्ता गरी प्रभावकारी रुपमा गरिएको अनुसन्धान पश्चात चिनिया नागरिक लिन क्वीङ झिङ झ्वाङ र फिलिपिनी नागरिक हनिपा अपायार्ट तथा नेपाली नागरिक कमल कँडेलसमेतका ३६ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता भएको थियो ।
उनीहरुमाथि दश करोड ३४ लाख ९३ हजार विगो मागदावी गरी अदालतमा मुद्दा दायर भएकोमा ललितपुर जिल्ला अदालतले तीनै जना विदेशीलाई पुर्पक्षको लागि कारागार चलान गरेको बोगटीले बताउनुभयो । अन्य प्रतिवादीहरुलाई धरौटीमा रिहा गरिएको उहाँले जानकारी दिनुभयो ।