काठमाडौँ । एक युवाले मध्यरातमा महिलाको शव बोकेका केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् ।
उक्त दृष्य सिसी टिभी फुटेजमा कैद हुन्छ । अनि फुटेर प्रहरीको अनुसन्धानको विषय बन्छ । अनि अनुसन्धानमा प्रहरी खटिन्छन् । छोटो समयमै शव फ्याँक्ने बेलाको हुलियाका मान्छेलाई प्रहरीले पक्राउ गर्छन् ।
हेर्दा फिल्मी लाग्ने यो सत्य घटना काठमाडौँको कालिमाटीमा भएको छ । घटना यही मङ्सिर ७ गतेको हो । आजमात्रै उक्त घटना विवरण सार्वजनिक भएको छ ।
सिसी टिभीमा देखिएको उक्त दृष्यपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण संकलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले उक्त घटनामा संलग्न रहेका व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा उनीमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरिएको छ ।
अनुसन्धानमा उनी लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ । उनले महिलाको शव बोकेर फाल्ने समयमा लगाएको चप्पल, ट्राउजर र ज्याकेटको आधारमा प्रहरीले खोजी थालेको थियो । उनलाई त्यही चप्पल, ट्राउजर लगाएकै अवस्थामा भेटिएको जिसीले बताउनुभयो ।
उनले सिसी टिभी फुटेजमा देखिएका व्यक्ति आफू भएको प्रहरी समक्ष स्वीकार पनि गरेका छन् । अहिले महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्ट आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन । प्रहरीका अनुसार महिलामाथि बलात्कार भएको आशंका समेत रहेकाले परीक्षणका लागि पठाइएको छ ।