काठमाडौँ, २६ कात्तिक : उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन र नयाँनयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले काठमाडौँमा २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना गरिने भएको छ ।
नेपाल हस्तकला महासंघले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी तीव्ररुपमा अघि बढेको जानकारी गराएको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा आउँदो मंसिर २० देखि २४ गतेसम्म होटल हायत बौद्धमा मेला आयोजना गरिएको महासंघले जानकारी गराएको छ ।
मेलाले हस्तकला डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदानप्रदान गर्ने, स्वदेशी तथा विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदान गर्न सहयोग गर्ने मेला संयोजक दिल्लीरत्न तुनाधरले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरिने मेलामा हस्तकलाका वस्तुहरुको करिब १५० वटा स्टलहरु रहने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । मेलामा विदेशी प्रदर्शनीकर्ताका रुपमा भारत, चीन, पाकिस्तान, बंगलादेशका व्यापारीहरुको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरु तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला संघहरु र वस्तुगत संघहरु समेतको सहभागिता रहने जनाइएको छ ।
व्यापार मेलामा धातुकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्रीहरु प्रर्दशनी तथा विक्रीमा राखिने छन् ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मेलामा समाजमा पछाडि परेका वर्ग र फरक क्षमता भएका व्यक्तिलाई निशुल्क स्टल प्रदान गरिने महासंघले जनाएको छ ।
मेलाको प्रमुख आर्कषणको रुपमा रहेको १९औं संस्करणको हस्तकला प्रतियोगिता रहने र त्यसमा परम्परागत विधातर्फ लोपोन्मुख अवस्थामा रहेको ‘बुट्टेनली’ र समसामयिक विधातर्फ ‘गलैँचा बुनाई’मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरिने प्रतियोगिता संयोजक नवीन शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रत्येक विधामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँसहित पदक प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
मेलाको अवसरमा आर्थिक वर्ष २०८०/८१ को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा पवद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता, कार्गो कम्पनी र उत्कृष्ट कलाकारलाई सम्मान गरिने छ । मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ कलाकारलाई सम्मान गरिने जनाइएको छ ।
मेलाकै सन्दर्भमा हस्तकलाका विविध विधामा संलग्न कलाकारहरुको प्रतीभा पहिचान गराउने र कलाकारहरुको व्यापार ब्यवसायलाई प्रवद्र्धन गराउने उद्देश्यले ‘कला प्रदर्शनी २०८१’ पनि आयोजना गरिने भएको छ ।
उक्त प्रदर्शनीमार्फत हस्त निर्मित विविध कलाकृतिहरु प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरु एवं आगन्तुक महानुभावहरु बीचमा परिचित गराउने उद्देश्य लिइएको छ ।
यस पटक व्यापार मेला कै सन्दर्भमा चिनिया तथा अन्य देशबाट पाहुनाहरु निमन्त्रणा गरी चीन नेपाल हस्तकला, संस्कृति र पर्यटक समिट समेत आयोजना गरिने र त्यसबाट नेपालमा ग्रीन परियोजना विकास गरी कार्यान्वयन गरिने महासंघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिनुभयो ।
सोही सन्दर्भमा चीनको इष्ट कल्चरल टुरिजम एलाइन्स तथा चाईना र नेपालको हस्तकला महासंघबीच चीन नेपाल ह्याण्डीक्राफ्ट कल्चर एण्ड टुरिजम फोरममार्फत ‘चीन–नेपाल हस्तकला, संस्कृति र पर्यटन सम्मेलन’ काठमाडौँमा आयोजना गर्नेगरी समझ्दारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ ।
पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यले मेला सामान विक्रीका हिसाबले मात्रै होइन यसबाट बजार प्रवद्र्धन र हस्तकला क्षेत्रका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्य समेत रहेको बताउनुभयो ।
नेपालमा हस्तकला मुलुकको प्रमुख निर्यातमूलक उद्योगको रुपमा रहेको छ । हाल नेपाली हस्तकलाका वस्तुहरु करिब रु १२ अर्ब मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशहरुमा निकासी भइरहेका कार्यक्रममा जानकारी गराइएको थियो ।
हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । देशको व्यापार घाटा कम गर्न र आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनिकरण गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको निकै ठूलो महत्व छ ।