काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकको कर्मचारी हुँ खाता नविकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै यसतर्फ सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ ।
सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पहिलेपहिले बढ्दो प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम टिकटक, मेल, वाट्सएप भाइबर, इमोलगायत)कोे माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर बैङ्क तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्पत रकम ठगी गर्ने गरेकोमा अहिले भने ह्याकरले बैंकका कर्मचारी बनेर ठगीका गतिविधि गर्न थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यसैले हामीले सार्वजनिक सूचना नै जारी गरेर यस्तो गतिविधि हुने वित्तिकै सिआइबीमा खबर गर्न भनेका छौँ, यसरी फोन गर्ने व्यक्तिबारे समयमै जानकारी आयो भने आर्थिक अपराध रोक्न सकिन्छ ।”
सिआइबीले विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईँको खाता नविकरण गर्नुपर्ने छ भनि व्यक्तिगत विवरण जस्तै एकाउन्ट नम्बर जन्म मिति, ओटिपी कोर्ड, ठेगानालगायत गोप्य विवरण माग गर्ने र खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा ह्याकरहरुले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरु लिने तथा बैंकमा समेत खाता खोली विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाली अनलाइन ठगी गर्ने गरेको उजुरीहरू पनि केही दिनदेखि प्राप्त भइरहेको जानकारी गराएको छ ।
सिआइबीले जारी गरेको सार्वजनिक सूचना भनिएको छ, ‘यस्ता गतिविधि बढ्न थालेकाले त्यस्ता शंकास्पद÷अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिइ सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ । साथै यस्ता अनलाईन ठगी÷बैंकिङ ठगी कसूरबाट बच्न सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।’
यता बैंकहरुले भने कर्मचारीहरुले ग्राहकबाट कहिल्यै पनि व्यक्तिगत विवरण नमागिने स्पष्ट पार्दै आएको छ । प्रविधिको विकाससँगै फरक खालका आर्थिक अपराधका घटना बढ्न थालेको र अन्तरदेशीय आर्तिक अपराधहरु भइरहेकाले चुनौती थपिँदो रहेको नेपाल प्रहरीको निष्कर्ष छ ।
त्यही कारण नेपाल प्रहरीले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान ब्यूरो स्थापनाको पहल गरिएको प्रहरी महानिरीक्षक वसन्तवहादुर कुँवरले बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले उक्त ब्यूरोका लागि अवधारणापत्र तयार पारी गृहमन्त्रालयमासमेत पेश गरिसकेको छ ।