काठमाडौँ : नेपाली ललितकला क्षेत्रका अग्रज कलाकार, शनिवारीय प्रत्यक्ष कला कार्यशालाका कार्यकारी प्रमुख राकेशचन्द्र श्रेष्ठको मस्तिष्कघातका कारण ५७ वर्षको उमेरमा निधन भएको छ । उहाँको यही कात्तिक १५ गते बिहीवार निधन भएको हो ।
कलाकार श्रेष्ठ नेपाली ललितकला क्षेत्रमा शनिवारीय प्रत्यक्ष कला कार्यशाला अभियानका प्रमुखमध्येका एक अभियन्ता हुनुहुन्थ्यो । उहाँ र अर्का कलाकार दिवेश प्रधानको नेतृत्वमा ६ वर्ष अघि सुर भएको उक्त अभियान अहिले स्थापित कार्यक्रम बन्न पुगेको छ ।
सनु १९६७ अक्टोबर २६ मा जन्मिनुभएका श्रेष्ठ निक्कै सरल र कसैलाई असर नपुर्याउने सहज स्वभावको हुनुहुन्थ्यो । उहाँले ललितकलामा स्नातक गर्नुभएको छ । उहाँका सहकर्मी एवं शनिवारीय प्रत्यक्ष कला कार्यशाला अभियानका अर्का अभियन्ता कलाकार दिवेश प्रधान भन्नुहुन्छ, ‘नेपाली ललितकला क्षेत्रको एक कर्मशील कलाकारको अवसान भएको छ, उहाँ सधैँ संघर्षरत इमान्दारपूर्वक काममा लाग्ने, जुन काममा पनि डेडिकेटेड हुने मान्छे, उहाँ जस्तो पाउन गाह्रो छ ।’
प्रधानले २७ वर्षदेखि चिनजान र ६ वर्षदेखि कला अभियानमा सहभागी हुनुभएका श्रेष्ठ एक असल अभिभावक रहेको र अहिले एउटा टाउको गुमाएको महसुस भएको बताउनुभयो ।
कलाको प्लेन एयर वर्कशपमा रुचि राख्ने कलाकार श्रेष्ठ जलरंगका माध्यामबाट कला सिर्जना गर्न मन पराउनुहुन्थ्यो । उहाँले थुप्रे दृष्य चित्र बनाउनुभएको छ । धेरै समूहगत कला प्रदर्शनीमा सहभागी हुनुभएको छ । कलाकार हरि नेपालीले लेख्नुभएको छ, ‘उहाँ पुराना कलाकार भए पनि नवआगन्तुक कालाकारहरुलाई सधै जुझारु, उत्साहित बनाउने व्यवहारिक हितमा लागेको भेट्छौँ।’
उहाँको असोज ९ गते मस्तिष्कि घात भएको थियो । जसका कारण शरीर आधा भाग नचल्ने अवस्था भएको थियो । वीर अस्पतालमा न्यूरो सर्जरी गरिएको थियो । त्यसपछि उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुने क्रममा रहेकोमा केही दिनदेखि छातीमा समस्या देखिएको थियो । उपचारकै क्रममा उहाँको बिहीवार विहान निधन भएको हो । विगत एक महिनाभन्दा बढी समयदेखि उहाँ अस्पतालमै उपचाररत हुनुहुन्थ्यो ।
बिहीवार नै उहाँको आर्यघाटमा अन्त्यष्टि गरिएको छ। उहाँको अन्त्यष्टिमा ललितकला क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।